गोकर्ण पौडेल
प्राविधिक शिक्षालयका लागि आयोजना गरिएको धार्मिक महायज्ञमा दाताहरु उत्साहित बन्न थालेका छन् । जन कल्याण माध्यमिक विद्यालय दुधरासमा आयोजना गरिएको धार्मिम महायज्ञमा शुक्रबार चन्द्रबहादुर डाँगीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मज्गैमा रहेको १० लाख २५ हजार मुल्य बराबरको जग्गा दान गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले प्राविधिक शिक्षालयका लागि दश लाख दिने कार्यपालिकाबाट निर्णय गरेपछि उत्साहित बनेको विद्यालय व्यवस्थापन समितिले दुधरासमा २०७५ साउन महिनादेखि डिप्लोमा तहको इन्जिनिरिङ कक्षा सञ्चालनका लागि महायज्ञको आयोजना गरेको छ । महायज्ञमा हालसम्म सबैभन्दा बढि प्रत्यक्षरुपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७का वडा सदस्य लवरु चौधरीले ३५ हजार एक सय ३५, घोराही उपमहानगरपालिका वडा नम्बर ७का धनबहादुर केसीले २५हजार,तुलसीपुरका नीलप्रसाद सापकोटाले दश हजार एक सय २५, पकर्रे सामुदायीक वन उपभोक्ता समूहबाट ५ हजार ५ सय ५५ सहयोग भएको थियो ।
शुक्रबार नै जग्गा दान बाहेक प्रत्यक्ष सहयोग एक लाख १७ हजार ३६, विभिन्न धार्मिक अनुष्ठानबाट ३० हजार ७ सय ५४ रुपैया संकलन भएको थियो । बिहिबार श्री जनश्रम मावि खाद्रेले ५ हजार ५ सय २५ सहयोग गरेको थियो । शुक्रबारसम्म प्रत्यक्षरुप, अनुष्ठान, कलश बिक्रिबाट २ लाख बढि रकम संकलन भएको बताइएको छ ।
माघ २५गतेसम्म जारी रहने महायज्ञको मुख्य कथावाचकमा पंण्डित दिनबन्धु पोख्रेल रहेका छन् । महायज्ञको शुक्रबार प्रदेश सभा सदस्य अमर डाँगीले उद्घाटन गरेका थिए ।
यसैबिच मूल आयोजक समितिका संयोजक देवराज विश्वकर्माले शुक्रबारसम्म विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । पहिलो दिनमै विभिन्न क्षेत्रबाट आएको सहयोगले निकै उत्साहित बनाएको भन्दै ग्रामिण क्षेत्रबाट पनि प्राविधिक शिक्षालयका लागि शिक्षाप्रेमीहरुको सहयोगले आगामी दिनहरुमा समेत सहयोग सद्भावको अपेक्षा गरिएको बताइएको छ । प्राविधिक शिक्षालयका लागि एक करोड बढि रकम आवश्यक पर्ने विद्यालयका प्रधानाध्यापक हिमबहादुर भण्डारी जानकारी दिएका छन् ।











