बिजौरी २०  माघ । शुक्रबार बिहान एघार बजेको समय अधिकाशं युवाहरु गाडी रोकिरहेका देखिन्छन् । बन्द हड्तालका लागि गाडी रोक्ने युवा जमात शुक्रबार भने भिन्न अभियानमा देखिए । यात्रु सवार गाडी, मोटरसाइकल रोक्दै युवाहरु सवारी चालक सहचालकहरुलाई ट्राफिक सचेतना फैलाउदै थिए । बजार क्षेत्र नजिकै सामुदायीक र संस्थागत विद्यालयहरु समेत भएकाले सवारी चालकहरुलाई बिजौरी क्याम्पस चोकदेखि डाडाँगाउ पिपलबोटसम्म २०–३० प्रतिघण्टा गतिमा गाडी चलाउन आग्रह गरेका छौ – वडा सञ्जाल १८का वडाध्यक्ष गणेश खडकाले बताए ।

वडासञ्जाल १८ र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८को संयुक्त आयोजनामा ट्राफिक सचेतनामुलक कार्यक्रम गरिएको छ । साथै दुर्घटना न्यूनीकरणका लागि निश्चित क्षेत्रमा यात्रु चढाउन र ओराल्न, सीट संख्याभन्दा बढि यात्रु नराख्न आग्रह गरिएको वडा नम्बर १८का वडाध्यक्ष माधव वलीले बताए । साथै सवारी साधन चलाउदा मोबाइल फोन प्रयोग नगर्न र सीट वेल्ट प्रयोग गर्न समेत आग्रह गरिएको थियो । साथै वडा नम्बर १९ र १८को विशेष पहलमा बिजौरी क्षेत्रमा ट्राफिक सचेतनाका सन्देश मुलक बोर्डहरु राख्ने तयारी भइरहेको वडा नम्बर १८का वडाध्यक्ष माधव वलीले बताए ।

कार्यक्रममा अस्थायी ट्राफिक पोस्ट बिजौरीका इन्चार्ज देबहादुर नेपाली, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वली, पूर्व अध्यक्ष गिरीराज केसी लगायतले ट्राफिक सचेतनामुलक कार्यक्रममा यात्रु तथा सवारी चालकहरुलाई जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण युवा सञ्जाल बिजौरीका सचिव विदुर गौतमले गरेका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ले यस अघि असोज महिनामा समेत ट्राफिक सचेतना र बजार व्यवस्थापनका सवालमा सचेतना मुलक कार्यक्रम गरको थियो । बिजौरी उद्योग वाणिज्य संघको व्यवस्थापन भएको त्यस समयमा हार्डवेयरका सामग्रीहरु जथाभावि नराख्न आग्रह गरिएको थियो ।