दाङ, १५ माघ। प्रेस सेन्टर नेपाल दाङ शाखाले १४ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा आज घोराहीमा शुभकामना आदान प्रदान तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ ।

26994136_1963428770352955_2906656875339130020_nसो अवसरमा बोल्ने वक्ताहरुले पत्रकारहरुको पेशागत हितका लागि एकजुट हुनुपर्नेमा जोड दिएका छन् । वक्ताहरुले वैचारिक आस्था र धरातल जे–जस्तो भए पनि श्रमजीवी पत्रकारहरुको हक अधिकारको सवालमा एकजुट हुनुको विकल्प नभएको बताएका हुन् ।

प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्लको अध्यक्षता एवं माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा दाङ जिल्ला सह–इन्चार्ज हेमराज शर्मा ‘डायमण्ड’को प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि हेमराज शर्मा ‘डायमण्ड’ले पत्रकारितालाई व्यावसायिकताको नाममा व्यापार र पसलजस्तो हुन नहुने बताए ।
त्यस्तै प्रेस सेन्टर नेपालका संस्थापक सदस्य एवं नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य अजयदीप शर्माले संस्था स्थापना गर्दाको क्षणको स्मरण गर्दै जिम्मेवार पत्रकारिता गर्नुपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि प्रेस सेन्टरका केन्द्रीय सदस्य नरेन्द्र केसीले पत्रकारिताको माध्यामबाट प्रेस सेन्टरले राजनीतिक तथा सामाजिक रुपमा निर्वाह गरेको भूमिकाको विषयमा चर्चा गरे ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष सुशील गौतमले संगठित पत्रकारहरुले आफ्नो पहिचानको प्रदर्शन गर्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा प्रेस सेन्टरका ५ नम्बर प्रदेश सचिव गणेश वली, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एव सल्लाहकार सुदीप गौतम, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह, पूर्वअध्यक्ष केबी मसाल, सल्लाहकार दुर्गालाल केसी, प्रेस चौतारी नेपाल दाङका सल्लाहकार सुदर्शन रिजाल, प्रेस सेन्टर दाङका सल्लाहकार शारदा शर्मा, पत्रकार महासंघ दाङ शाखा सचिव भुपेन्द्र वली, प्रेस युनियनका उपाध्यक्ष बसुन्धरा गौतमलगायतले शुभकामना दिएका थिए ।

यसैबीच प्रेस सेन्टर नेपाल दाङ शाखाले स्थापना गरेको प्रेस सेन्टर सृजनशील पत्रकारिता पुरस्कार २०७४ पत्रकार जीवन नेपालीलाई प्रदान गरिएको छ । विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील नेपालीलाई नगद ५ हजार र सम्मान–पत्रसहित पुरस्कृत गरिएको हो ।