इन्द्रेणी संवाददाता
रुकुम, १२ माघ । पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट गोलखाडामा सार्ने सरकारको निर्णयप्रति स्थानीयहरुले आपत्ति जनाएका छन् । यसैत रुकुमकोट दुर्गम जिल्लाको दुर्गम क्षेत्र पर्ने र त्यसमा पनि सदरमुकामजास्तो महत्वपूर्ण क्षेत्रलाई झनै दुर्गममा सार्न गरिएको निर्णयप्रति पूर्वी रुकसमेलीहरु आन्दोलित समेत भएका छन् ।
उनीहरुले विरोधमा प्रर्दशण गर्नुका साथै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका छन् । विहीबार वसेको मन्त्रिपरिषदको बैठकले सिस्ने गाउँपालिकाको रुकुमकोटबाट पूर्वी रुकुमको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिकाको गोलाखाडामा सार्ने निर्णय गरेको थियो । यो सरकारी निर्णय जनताको पक्षमा नभएको भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् । रुकुमकोटमा सरकारी कार्यालय समेत स्थापना भइसकेको र गोलाखाँडाभन्दा केही सुगम भएकाले सदरमुकाम सार्न नहुने स्थानीयको माग छ । उनीहरुले आन्दोलन रुवरुप आज सदरमुकाम रुकुमकोटका सरकारी कार्यालयमा समेत धर्ना दिएका छन् ।
करीव ४४ वर्ष पहिले रुकुमकै सदरमुकाम भएको रुकुमकोटबाट २०३० सालमा रुकुमको सदरमुकाम रुकुम खलंगामा सारिएपछि दुखी भएको त्यहाँका जनताहरु २०७४ असोज २० मा जिल्ला विभाजनपछि पुनः सो स्थानलाई पूर्वी रुकुमको सदरमुकाम घोषणा गरिएपछि केही आशा पलाएको थियो । सो स्थानमा अहिलेसम्म जिल्ला प्रशासन सहितका अन्य सरकारी कार्यालयहरु स्थापना भई कामकाज समेत सञ्चालन भइसकेको छ ।











