इन्द्रेणी संवाददाता
दाङ, १२ माघ । प्रदेश नम्बर पाँचको पहिलो बैठक वस्ने मिति तय भएको छ । प्रदेश ५ का प्रमुख उमाकान्त झाले २३ माघका लागि पहिलो बैठक बोलाएका छन् । बुटवलमा रहेको उद्योग वाणिज्य संघको भवनलाई प्रदेशसभाको भवन बनाइएको छ । प्रदेश ५ मा ७९ वर्षका बलराम शर्मा सभामुखको भूमिकामा रहने छन् ।
यसैगरी सातवटै प्रदेशमध्ये ५ वटा प्रदेशका प्रमुखले प्रदेशसभाको पहिलो बैठक डाकेका छन् । प्रदेश १ र ६ बाहेक २, ३, ४, ५ र ७ मा पहिलो बैठकको मिति तय भएको हो ।
जसअनुसार प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले २१ माघका लागि पहिलो बैठक बोलाएका छन् । प्रदेश २ को अस्थायी राजधानी जनकपुर तोकिएको छ । जनकपुरमा रहेको क्षेत्रीय शैक्षिक तालिम केन्द्रको भवनलाई प्रदेश २ को प्रदेशसभा भवन बनाइएको छ । सोही भवनमा प्रदेशसभाको पहिलो बैठक बस्नेछ । प्रदेश २ मा ७१ वर्षीय लगन चौधरी सभामुखको भूमिकामा रहनेछन् ।
त्यस्तै प्रदेश ३ प्रमुख अनुराधा कोइरालाले १८ माघका लागि प्रदेशसभाको पहिलो बैठक बोलाएकी छन् । उनले हेटौंडामा रहेको प्रदेशसभा भवन ९तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालय०मा प्रदेशसभाको पहिलो बैठक बस्ने बताइन् । सो प्रदेशमा ७२ वर्षीय डोरमणि पौडेल सभामुखको भूमिकामा रहनेछन् ।
प्रदेश ४ प्रमुख बाबुराम कुँवरले २२ माघमा बैठक बोलाएका छन् । सो प्रदेशमा ६७ वर्षीय जनकलाल श्रेष्ठ सभामुखको भूमिकाममा रहनेछन् । प्रदेश ४ को पहिलो बैठक पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रमा रहेको प्रदेशसभा हलमा हुनेछ ।
प्रदेश ७ को पहिलो बैठक २१ गतेकै लागि बोलाइएको छ । सो प्रदेशका प्रमुख मोहनराज मल्लले २१ माघका लागि बैठक बोलाइएको जानकारी दिए । प्रदेश ७ को प्रदेशसभाको पहिलो बैठक धनगढीमा रहेको जिल्ला समन्वय समितिको कार्यालयमा हुने छ । सो प्रदेशमा दिव्यश्वरी शाह सभामुखको भूमिकामा रहनेछन् ।
सबै प्रदेशमा प्रदेशसभाको पहिलो सभामुख सो प्रदेशमा रहेका सांसदमध्ये जेष्ठ सदस्य हुनेछन् । प्रदेश १ र ६ मा भने पहिलो बैठकको मिति तय भएको छैन । प्रदेश १ को अस्थायी राजधानी विराटनगर कायम गरिएको छ ।