इन्द्रेणी संवाददाता
दाङ, १२ माघ । दाङको तुलसीपुर उपमहानगरपालिकाले उपमहानगरभित्र खरका छाना हटाउने भएको छ । उपमहानगरका सबै वडाहरुमा खरको छाना गरेका घरमा टिन (ककर्ट पाता) हाल्ने भएको छ । जसका लागि नगरको कार्यापालिका बैठकले ककर्ट पाता खरिदका लागि टेण्डर आह्वान गर्ने समेत निर्णय गरिसकेको प्रवक्ता श्याम डाँगीले बताए ।
यसैगरी उपमहानगरपालिकाले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना गर्ने भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सरह सेवा दिने गरी तुलसीपुर उपमहानगरपालिकाको ग्रामीण क्षेत्र अश्वारामा केन्द्रको स्थापना गर्ने भएको हो । उपमहानगरपालिकाको कार्यपालिका वैठकले यस्तो निर्णय गरेको प्रवक्ता डाँगीले वताए । केन्द्रमा मेडिकल अधिकृत डाक्टरको व्यवस्था समेत हुनेछ ।
यसैगरी तुलसीपुर उपमहानगरपालिकाले स्थानीय विकास निर्माणका सहजताका लागि खरिद गरेको जेसिवी, ट्रेक्टर लगायतका उपकरणको भाडादर निर्धारणका लागि पनि समिति निर्माण गरेको छ ।
कार्यपालिकाको वैठकले प्रवक्ता श्याम डाँगी र वडाध्यक्ष कुमार लामिछाने रहेको २ सदस्यीय कार्यसमिति समेत निर्माण गरेको छ । तुलसीपुर उपमहानगरलाई सफा र हराभरा नगर वनाउनका लागि फोहोर तान्ने मेसिन खरिद गर्ने समेत निर्णय गरेको प्रवक्ता डाँगीले वताए ।











