इन्द्रेणी संवाददाता
दाङ, १२ माघ । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि नारायणपुर व्यापारिक कृषि तथा पर्यटन महोत्सव–२०७४ शुरु भएको छ । महोत्सवको उद्घाटन प्रदेश नम्बर पाँचका प्रदेश सभाका सदस्य अमरबहादुर डाँगीले गरे ।
महोत्सव उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले सो महत्सवले समग्र दाङको कृषि, व्यापार तथा पर्यटनको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।
‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दिगो अर्थतन्त्रका लागि अमूल्य योगदान’ भन्ने मूल नाराका साथ हुने शुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा कृषि, व्यापार, वाल उद्यानलगायतका २ सय ३० स्टल रहेका छन् ।
महोत्सव अवधिभर करीव १ लाख ५० हजार दर्शकहरुले अवलोकन गर्ने र ३ करोड बराबरको आर्थिक कारोवार हुने महत्सव मूल आयोजक समितिका संयोजक एवं नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहालले जानकारी दिए । महोत्सव उद्घाटन अघि नारायणपुर बजार क्षेत्रमा शोभायात्रा गरिएको थियो । महोत्सव अवधिभर विभिन्न ख्यातीप्राप्त कलाकारहरुले संस्कृतिक प्रस्तुती देखाउने छन् ।
