काठमाडौँ, ८ माघ । नेपाल प्रहरीले सांसदमा निर्वाचित पूर्वडीआईजी नवराज सिलवाल, रेशम चौधरी र प्रदेश सांसदमा विजयी राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पक्राउ गर्न ‘वान्टेड’को सूचीमा राखेको छ ।
प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादमा सरकारी कागजपत्र कीर्ते गरेको आरोपमा सर्वोच्च अदालतले छानबिन गर्न आदेश दिएपछि नेपाल प्रहरीले सिलवाललाई खोजी गर्दै आएको छ ।
त्यसैगरी ज्यान मार्ने उद्योगमा उच्च अदालत पाटनले दोषी ठहर गरेका मनाङे पनि पक्राउको सूचीमा हुनुहुन्छ । गोरखापत्रमा खबर छ- पक्राउ पर्ने डर भएपछि मनाङे आइतबार प्रदेश ४ को अस्थायी केन्द्र पोखरामा प्रदेश सांसदको शपथग्रहण कार्यक्रममा समेत अनुपस्थित रेहे ।
त्यसैगरी थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका अधिकारी मारिएको मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई पक्राउ गर्न आदेश जारी गरेको थियो । यही कारण सांसदमा विजयी भए पनि निर्वाचन आयोगले चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र अझैसम्म दिएको छैन ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता मनोज न्यौपानेले फरार तीन जनालाई अदालतले समेत दोषी देखाइसकेका कारण ‘वान्टेड’ को सूचीमा राखी पक्राउको प्रयास भइरहेको बताउनुभयो । पक्राउका लागि मुलुकभर लिखित तथा मौखिक सर्कुलर भइसकेको छ, उनले भने ।
यी तीन ब्यक्तिलाई पक्राउ गर्न फोटोसहितको सूचना सार्वजनिक गरी वान्टेडमा राख्न आवश्यक भने नभएको उनले बताए ।
पूर्वडीआईजी सिलवाल नेकपा एमालेबाट ललितपुर क्षेत्र नम्बर–१ बाट र चौधरी राष्ट्रिय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन् भने मनाङे मनाङ प्रदेशसभामा स्वतन्त्रबाट निर्वाचित हुन् ।