काठमाडौं, ३ माघ । सर्वोच्च अदालतले प्रदेशसभा सदस्य दीपक मनाङ्गे (राजीव गुरुङ) लाई ज्यान मुद्दामा पाँच वर्षको जेल सजाय सुनाएको छ । तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चले मंगलबार सदर गरेको हो ।

सर्वोच्चका न्यायाधीश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले पुनवेदन अदालत पाटनको फैसलालाई सदर गरेको हो । यसअघि नै उक्त मुद्दामा पुरावेदन अदालत पाटनले चारै जना प्रतिवादीलाई पाँच वर्षको कैद सजाय सुनाएको थियो ।

उक्त फैसाला रेवत कार्कीसहित तीनै प्रतिवादीले पुनरावेदन गरेता पनि दिपक मनाङेले भने पुनरावेदन नगरेकाले पुनरावेदन पाटनकै फैसला अन्तिम हुने गरी सर्वोच्चले सदर गरेको हो।

उक्त मुद्दामा यस अघि दिपक मनाङे हिरासतमा नबसेका हुनाले अब सर्वोच्चको फैसला पछि निज कैदमा बस्नुपर्ने र उनको पद पनि स्वतः बदर हुने वकिलहरु बताउँछन् ।

मनाङे गएको प्रदेशसभा चुनावमा प्रदेश नम्बर ४, मनाङ्- ‘ख’बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी सांसद हुन् । उनले पहिले एमालेबाट टिकट पाउने चर्चा थियो तर टिकट वितरणका क्रममा एमालेको व्यापक आलोचना भएपछि उनलाई टिकट दिइएको थिएन ।

टिकट नपाए पनि उनलाई एमालेको समर्थन प्राप्त थियो । टिकट नपाएर बागी उम्मेदवार बने पछि उनलाई सघाउन पार्टीकी आधिकारिक उम्मेदवार खण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिएकी थिइन् ।