बाजुरा, १ माघ । चिसो बढेसँगै फैलिएको रुघा र ज्वरोका कारण जगन्नाथ गाउँपालिका–२ हुनी गाउँमा १० जनाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण हुनी जगन्नाथ गाउँपालिका–४ का काली कामीको परिवारका सबैको मृत्यु भएको छ ।
प्रभावित क्षेत्रमा पुगेर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय बाजुराका महामारी शाखाका संयोजक टेकबहादुर खड्काका अनुसार सो गाउँपालिका वडानम्बर ४ की ६९ वर्षीया काली कामी, उनका ७० वर्षीय श्रीमान् जाड कामी र भाइ ९देवर० ६० वर्षीय काला कामीको मृत्यु भएपछि किरिया बस्नेसमेत घरमा बाँकी रहेनन् । सोही वडाका ६५ वर्षीया रामसरा भण्डारी र वडा नं ४ का ६९ वर्षीया दरवीर बुढाको पनि मृत्यु भएको उनले बताए ।
जगन्नाथ गाउँपालिका हुनीका वडाध्यक्ष कर्णबहादुर विष्टका अनुसार अत्यधिक चिसोका कारण गाउँका ६० वर्षीया थुपा नाथ, ५५ वर्षीय कर्ण शाही, ७२ वर्षीय मन विष्ट, ३६ वर्षीया सुपारी विष्ट र ६७ वर्षीया बना विष्टको मृत्यु भएको छ ।
चिसो बढेपछि दुई सातायता घरैपिच्छे रुघा तथा ज्वरोका बिरामी रहेको गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख रामदत्त न्यौपानेले बताए । राजधानीमा खबर छ – उनीहरूको भाइरल संक्रमणका कारण मृत्यु भएको अनुमान गरिए पनि कारण यकिन भइनसकेको जिल्ला जनस्वास्थ्यका प्रमुख डा। रूपचन्द्र विकले बताए ।
‘भाइरल फैलिएको भन्ने अनुमानसम्म भए पनि पुष्टि भएको छैन, जिल्ला स्वास्थ्य कार्यालयबाट महामारी डेस्कका फोकल पर्सन र डा। सत्य शाहीलाई अनुसन्धानका लागि खटाएका छौं,’ डा। विकले भने, ‘भाइरल भएर नभएको परीक्षणका लागि नमुना केन्द्रमा पठाएका छौं ।’
चिसो बढेका कारण श्वासप्रश्वासलगायत रोगका बिरामी बढी समस्यामा रहेको उनले बताए । बढी संख्यामा बालबालिका र वृद्धवृद्धा प्रभावित रहेको वडाध्यक्ष विष्टले जानकारी दिए ।
भाइरल भए÷नभएको यकिन गर्न १२ जना बिरामीको नमुना परीक्षणका लागि एक साताअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको छ । बिरामीको अवस्था, लक्षणलगायत विषयमा महामारी तथा रोग नियन्त्रण महाशाखासँग समेत नियमित समन्वय भइरहेको भए पनि हालसम्म परीक्षण प्रतिवेदन आइसकेको छैन ।