जीतपुर, २९ पुस । सन् २०१७ मा कुल ४१ हजार ५ सय ५३ जनाले प्राचीन कपिलवस्तुस्थित तिलौराकोटको भ्रमण गरेका छन् । तीमध्ये ३७ हजार ८६५ विदेशी, एक हजार ५११ भारतीय र दुई हजार १७७ नेपाली छन् । यो अघिल्लो वर्षको भन्दा ५ हजारले बढी हो । सन् २०१६ मा कूल ३६ हजार ४७१ पर्यटकले तिलौराकोटको भ्रमण गरेका थिए ।

tilaurakot.1तीन वर्षदेखि बुद्ध क्रिडास्थल तिलौराकोटमा जारी उत्खननले यहाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएको लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बताए । ‘उत्खननकै कारण प्रचारप्रसार भएकाले पर्यटकको आगमनमा वृद्धि भएको छ’, उनले भने । खासगरी यहाँ म्यानमार, श्रीलङ्का, भियतनाम, चीन, थाइल्यान्ड, दक्षिण कोरिया, जापानलगायत देशका पर्यटक अत्यधिक मात्रामा आउने गरेका छन् ।

यहाँको मुख्य दरबार भग्नावशेषमा आई सूत्रपाठ तथा पूर्वी र पश्चिमी ढोकामा गौतम बुद्धको बाल्यकालको जीवनलीला पाठ गरेपछि मात्र शान्तिप्राप्ति भई आत्मसन्तुष्टि हुने विश्वास भएकाले बौद्ध धर्मावलम्बी आउने गरेको भिक्षु मैत्री महास्थवीरले बताए । बुद्धको जीवनीसँग सम्बन्धित यहाँका धेरै पुरातात्विकस्थलमा विदेशी पर्यटक आउने गर्छन् ।

सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोटमा एक वर्षमा ६० भन्दा बढी देशका विदेशी पर्यटकले भ्रमण गरेका छन् । भ्याटिकन सिटी, जापान, जर्मनी, फ्रान्सलगायत चीनसम्मका पर्यटकले तिलौराकोट अवलोकन गरेका छन् ।

tilaurakot.11सन् २०१५ मा २३ हजार ४ सय ६९ विदेशीले बुद्धका पिता राजा शुद्धोधनको प्राचीन दरबारको अवलोकन गरेका थिए । सन् २०१४ मा ३० हजार २ सय ३४ र सन् २०१३ मा २७ हजार ५ सय २ विदेशी पर्यटक यहाँ आएका थिए । सेप्टेम्बरदेखि मार्च महिनालाई पर्यटक आउने मौसमका रुपमा मानिएको छ । तिलौराकोट शुद्धोधनको राजप्रासादका रुपमा परिचित छ ।

नब्बे प्रतिशतभन्दा बढी विदेशी विश्व शान्ति र सद्भावको कामना तथा तीर्थाटनका लागि आउने गरेको तिलौटाकोटस्थित लुम्बिनी विकास कोषका कर्मचारी सञ्जय शर्माले बताए । तिलौराकोटमा पर्यटकको सङ्ख्या बढ्नु सकारात्मक भएको स्थानीयबासी तेजकुमार बौद्धाचार्यले बताए । उहाँले ठोस योजना र भौतिक पूर्वाधारको अभाव भएकाले प्रायः भारतको बाटो हुँदै लुम्बिनीको भ्रमणपछि मात्र यहाँ पर्यटक आउने गरेको बताए । रासस