इन्द्रेणी संवाददाता

काठमाडौं, २७ पुस । निर्माण कार्य शुरु गरेको एघार वर्षपछि चमेलिया जलविद्युत आयोजनाले विद्युत निकाल्ने भएको छ । ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले यसै साताबाट विद्युत् उत्पादन शुरू गर्ने भएको हो ।

chameliya-hydropowerउत्पादित विद्युत् परीक्षणका लागि आगामी शुक्रवारदेखि राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरिने भएको छ । शुरूमा १५ मेवाको एउटा मात्र बिजुलीको प्रसारण परीक्षण गरिने आयोजनाले जानकारी दिएको छ । आबद्धताबाट हुने लोड टेष्ट सफल भए रिलायबिलिटी टेष्ट गरी राष्ट्रिय प्रसारणमा पठाउने आयोजना प्रमुख अजयकुमार दाहालले बताए ।

‘शुक्रवार प्रसारण लाइनको आबद्धता गरी लगातार ५–६ दिनसम्म लोड रिजेक्शन टेष्ट गरिनेछ,’ दाहालले भने, ‘त्यो सफल भयो भने ३ दिन रिलायबिलिटी टेष्ट गरी अर्को आइतवारदेखि राष्ट्रिय प्रसारणमा जोड्ने तयारी गरिनेछ ।’ पहिलो युनिटको परीक्षण सफल भएपछि दोस्रो युनिटको परीक्षण शुरू गरिने दाहालले जानकारी दिए ।

चमेलिया दिन र रातको पानी जम्मा गरी साँझ र बिहान मात्र सञ्चालन गर्ने आयोजना हो, जसका कारण पहिलो युनिटको परीक्षण सफल भइसकेपछि भारप्रेषण केन्द्रको विद्युत् मागका आधारमा दोस्रो युनिट परीक्षण र पहिलो युनिट सञ्चालनसँगै गर्ने कि नगर्ने निधो हुने दाहालले बताए । ‘यदि पीक टाइममा बढी विद्युत् उपलब्ध गराउनुपर्ने स्थिति भए दिनभरि पानी जम्मा गरेर साँझ पहिलो युनिटबाट विद्युत् उत्पादन गर्नुपर्छ,’ उनले भने, ‘नभए दिनभर दोस्रो युनिटको टेष्ट गर्दै साँझ पहिलो युनिटबाट सामान्य परिमाणमा विद्युत् उत्पादन गर्न पनि सकिन्छ ।’

पहिलो युनिटको रिलायबिलिटी टेष्ट सकिएको २० दिनमा दोस्रो युनिट पनि राष्ट्रिय प्रसारणमा नियमित रूपमा जोडिने आयोजनाले जानकारी दिएको छ । दार्चुलाको बलाँचस्थित आयोजनाको सबस्टेशनमा अत्तरियाबाट ल्याइएको १ सय ३२ केभीको प्रसारण लाइनमा जोडिएको छ । उक्त प्रसारण लाइनमा अत्तरियातर्फबाट चार्ज गरी परीक्षण गरिसकिएको आयोजना प्रमुख दाहालले बताए । आयोजनाको शुरूको लागत साढे ८ अर्ब रुपैयाँ रहेकोमा निर्माण सम्पन्न हुँदासम्ममा करीब रू। १६ अर्ब पुगेको हो ।