रुकुम, २० पुुस। मध्यपहाडी लोकमार्ग निर्माणको कामले तीव्रता पाएको छ । पूर्वी रुकुमको काँक्रीदेखि पश्चिम रुकुमको चौरजहारीसम्म मध्यपहाडी लोकमार्ग विस्तारको कामले तीव्रता पाएको हो ।
सुस्त गतिमा निर्माण भएको पश्चिम रुकुमको मुसीकोट–चौरजहारी जोड्ने मध्यपहाडी लोकमार्ग सडक खण्डमा पर्ने सानोभेरी गाउँपालिकाको हाँसिवाङदेखि चौरजहारीसम्मको सडक निर्माणको कामले गति लिएको छ । सडक चौडा पार्ने, ग्राभेलिङ गर्ने र नाली खन्ने काम तीव्र बनाइएको हो । सुस्त गतिमा निर्माण भएको मध्यपहाडी लोकमार्गको कामले तीव्रता पाएपछि स्थानीय खुशी भएको सानीभेरी गाउँपालिका–१ का नारायण ओलीले बताए ।
आगामी ३ वर्षभित्र सो सडक खण्डलाई कालोपत्र गरिसक्नुपर्ने भएकाले हाँसिवाङदेखि चौरजहारीसम्मको ३४ किलोमिटर सडक खण्डको निर्माण कामले गति लिएको हो । अभियानमा खबर छ – गत जेठ असारदेखि नै सडक विस्तारको कामले तीव्रता पाउने भनिए तापनि असोजको अन्तिमबाट निर्माणको काम शुरू गरिएको छ ।
९ मिटर फराकिलो हुनेगरी मध्यपहाडी लोकमार्ग सडक खण्डको काम शुरू गरिएसँगै खोला तथा खोल्साहरूमा निर्माणाधीन मोटरेबल पक्की पुलहरूको निर्माण कार्यले समेत गति लिएको सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले जानकारी दिए ।
मध्यपहाडी लोकमार्ग विस्तार थालिएसँगै चौरजहारी–मुसीकोट सडक खण्डमा गुड्ने सवारीसाधनलाई समेत आवतजावतमा केही सहजता हुने देखिएको छ । ३ वर्षभित्रै ३४ किलोमिटर सडक खण्ड ओटासिल हुनेगरी सडक खण्डको काम शुरू भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् ।
हाँसिवाङदेखि चौरजहारीसम्मको मध्यपहाडी सडक खण्डको निर्माण तथा विस्तार गर्ने जिम्मा दिवा एण्ड चन्द्र वसन्त जेभी कन्ष्ट्रक्शन कम्पनीले लिएको छ । रुकुम पूर्वको भुमे गाउँपालिकाको पाती हाल्नेदेखि पश्चिम रुकमको चौरजहारीसम्म १ सय ४३ किलोमिटर सडक रुकुम खण्डमा रहेको छ । मध्यपहाडी काँक्री लोकमार्ग निर्माण पछि रुकुमबाट राजधानी काठमाडौंलगायत अन्य जिल्लाको यातायात क्षेत्रमा पहुँच विस्तार हुने जिल्ला प्राविधिक कार्यालय रुकुम पश्चिमका जिल्ला इञ्जिनीयर पहल पुनले जानकारी दिए ।