इन्द्रेणी संवाददाता
काठमाडौं २० पुस । सरकारले आज  प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । त्यसका लागि राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान ९ बजे बोलाइएको बैठकमा राष्ट्रिय पार्टीका अध्यक्षहरूलाई दुई अन्य नेतासहित उपस्थित हुन आग्रह गरिएको छ ।

सर्वदलीय बैठकमा मुख्य गरी तीन विषयमा छलफल हुनेछ । प्रधानमन्त्रीका स्वकीय सचिव केशव जोशीले प्रदेशको अस्थायी राजधानी, प्रदेश प्रमुख र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने विषयमा दलीय सहमति खोज्न सर्वदलीय बैठक बोलाइएको बताए नयाँ पत्रिकामा खबर छ ।

‘सरकारलाई प्रदेशको अस्थायी राजधानी तोक्न र प्रदेश प्रमुख नियुक्त गर्नुपर्ने बाध्यात्मक अवस्था आइपर्‍यो, त्यसका लागि सहमति जुटाउन प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘राष्ट्रिय सभा निर्वाचन प्रदेश–प्रदेशमा गर्ने र प्रदेशको अस्थायी राजधानीमा निर्वाचन आयोगले कार्यालय राख्नुपर्ने भएकाले अस्थायी मुकाम तोक्नुपर्ने बाध्यता सरकारलाई पर्‍यो ।

अस्थायी मुकाम तोकेपछि त्यहाँबाट काम सञ्चालन गर्न र निर्वाचित प्रतिनिधिलाई शपथ खुवाउन प्रदेश प्रमुखको आवश्यकता पर्ने भएकाले दलीय सहमति जुटाउन बैठक आह्वान भएको हो ।’