इन्द्रेणी संवाददाता
तुलसीपुर, १३ पुस । लामो समयको छलफल र गृहकार्य पश्चात अन्ततः तुलसीपुरको टरिगाउँ विमानस्थलमा फेरि हवाइ सेवा सुचारु हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे र समिट एयरका सिइओ मनोज कार्कीले आज विहीवार काठमाडौमा सहमति गरेपछि हवाइ सेवा सुचारु हुने भएको हो ।
जसअनुसार तत्कालका लागि सातामा दुई पटक आइतवार र शुक्रवार सेवा दिने सहमति भएको छ । सातको दुई पटक तुलसीपुर–काठमाडौ सिधा उडान हुने सहमति भएको मेयर पाण्डेले वताए । ‘अहिलेलाई काठमाडौबाट आउँदा १६ र जाँदा १८ यात्रु वोक्ने गरी सहमति भएको छ’, उनले भने । सहमतिमा पुस २३ गतेदेखि उडान शुरु गर्ने भएको छ ।
तत्कालका लागि तुलसीपुर–काठमाडैंका लागि ६ हजार ६ सय र ७ हजार भाडा तोकिएको छ भने दैनिक उडान भएपछि केही घटाउने सहमति पनि भएको पाण्डेले जानकारी दिए ।










