काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार रहँदैमा राष्ट्रियसभा निर्वाचन विधेयक पास भएमा कांग्रेसका तीन नेताको भाग्य चम्किने सम्भावना रहेको छ । राष्ट्रियसभा निर्वाचन विधेयक पास भएपछि सरकारले तीन जना सांसद मनोनित गर्न पाउने संवैधानिक व्यवस्था रहेका कारण देउवा नेतृत्वको सरकारले कांग्रेसका तीन नेतालाई सांसद बनाउने तयारी गरेको छ ।

nidhi-ramchandra- sitaula

राष्ट्रियसभामा सांसदका रुपमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाको नाम चर्चामा रहेको छ । कांग्रेसभित्र राम्रो पकड भएका नेतालाई सांसद बनाउनुपर्ने माग आइरहेको बेला यस विषयमा पौडेल, निधि र सिटौलाले सभापति देउवासमक्ष प्रस्ताव लगेको र सभापति देउवा सकारात्मक रहेको स्रोतले जनाएको छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभा निर्वाचन सम्बन्धित अध्यादेश राष्ट्रपति कार्यलयमा रोकिएर बसेको छ। नेकपा एमाले र माओवादी केन्द्रको विरोधका कारण अध्यादेश रोकिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवार थिए । पौडेल बाम गठबन्धनका किसानकुमार श्रेष्ठसँग ६४१४ मतान्तरले पराजित भएका थिए ।

यता पूर्वगृहमन्त्री नेता विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार थिए । निधि राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तोसँग २९१४ मतान्तरले पराजित भएका हुन् ।

त्यस्तै कांग्रेसका पूर्वमहान्त्री कृष्णप्रसाद सिटौला झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार थिए । सिटौला राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनसँग साढे १३ हजार मतान्तरले पराजित भएका हुन् । शिखरन्युजबाट