काठमाडौँ, ७ पुस । प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा पहिलो शक्ति बनेको नेकपा एमालेको स्थायी कमिटी बैठक चुनावपछि पहिलोपटक आज बस्दैछ ।

umlप्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ बाट पराजित पार्टी उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा बैठक आह्वान गरिएको छ । आफू पराजित हुनुमा पार्टीको आन्तरिक घात भएको नेता गौतमले गुनासो गरिरहनुभएका बेला स्थायी कमिटीको बैठक उहाँकै निवासमा बोलाइएको हो ।

बैठकको कार्यसूची सार्वजनिक नगरिएको भए पनि नेकपा एमाले– नेकपा माओवादी केन्द्रबीचको पार्टी एकीकरण, निर्वाचन परिणामबारेको समीक्षा, सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको राष्ट्रियसभा गठन अध्यादेश लगायतका विषयमा छलफल हुने एक नेताले बताए ।

पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले समसामयिक राजनीतिक विषय र अहिले देखिएका समस्याका बारेमा बैठकमा छलफल हुनेछ । माओवादी केन्द्रसँग पार्टी एकताका लागि गठन गरिएको पार्टी एकता संयोजन समितिको बैठक चलिरहेका बेला बस्न लागेको एमाले स्थायी कमिटी बैठकबाट ठोस निर्णय आउने विश्वास एमाले नेताको छ ।