इन्द्रेणी संवाददाता
दाङ, २ पुस । दाङको घोराही उपमहानगरपालिकाले कर संकलन प्रणालीलाई व्यवस्थित गर्न विद्युतिय कुपन प्रणाली लागु गरेको छ । यसअघि कर बुझाउन लाइन लाग्नुपर्ने वाध्यता भोग्दै आएका करदाताहरुले अब विद्युतिय कुपन प्रणालीबाट पालैलापो कर बुझाउने छन् ।
उपमहानगरपालिकाले सेवाग्राहीले विद्युतिय मेसीनमा औँठाले थिचेका आधारमा कुपन पाउने र कर शाखाबाट क्रमश नम्बर अनुसारको पालो आउने हँुदा कर संकलनमा व्यवस्थित र सहज भएको छ ।
उपमहानगरपालिकाले कर संकलन चुस्त बनाउन कर सम्बन्धी फाइल सम्बन्धित करदातालाई उपलब्ध गराउन समेत सुरु भएको छ ।
उपमहानगरकार्यपालिकाको बैठकले एकीकृत सम्पत्ति करको व्यक्तिगत फाइल कर शाखामा राख्दै आएकोमा अबदेखि स्वयम करदातालाई जिम्मा लगाउन थालिएको कर शाखाका प्रमुख बासुदेव पोख्रेलले जानकारी दिए ।
२०६२ सालदेखि उपमहानगरपालिकाले एकीकृत सम्पत्ती कर लागु गरी प्रत्येक करदाताको व्यक्तिगत फाइल बनाएर अभिलेख राख्दै आएको र करदाताको संख्या थपिदै जाँदा त्यसको व्यवस्थापनमा असहज हुदा स्वयं करदातालाई उपलब्ध गराउने कार्यपालिकाको बैठकले निर्णय गरेको हो ।
‘यसअघि हामीले एकीकृत सम्पत्ति कर लागु गरी प्रत्येक करदाताको व्यक्तिगत फाइल खडा गरी अभिलेख राख्दै आएका थियौ कर शाखा प्रमुख पोख्रेलले भने, ‘तर पछिल्लो समयमा करदाताको संख्या थपिँदै जाँदा कर्मचारी व्यवस्थापन लगायत भौतिक पूर्वाधार समेतको अभाव देखिदा प्रभावकारी सेवा प्रवाहमा समेत असर परेको हुँदा सुरक्षाका लागि करदाताहरुको फाइलको स्वयं करदातालाई उपलब्ध गराउन थालेका हौँ ।’