काठमाडौं, २८ मंसिर । सरकारले आजै सात वटै प्रदेशका अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्ने तयारी गरिरहेका वेला नेकपा एमालेका नेता माधवकुमार नेपालले मुलुकमा कामचलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि तोक्न नहुने बताएका छन् ।
काठमाडौँ क्षेत्र नं २ को बज्रयोगिनी, लप्सीफेदी लगायतका स्थानमा स्थानीयसँगको भेटघाटपछि आज आयोजित कार्यक्रममा उनले नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा वर्तमान सरकारले दीर्घकालीन प्रभाव पार्ने प्रदेश संयोजक तथा प्रतिनिधि नियुक्ति गर्न नैतिकरुपमा पनि नमिल्ने विचार व्यक्त गरे ।
मुलुकमा कम्युनिष्ट शक्तिले जनतालाई अधिकार सम्पन्न बनाउन लामो समय संघर्ष गरेको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले वाम गठबन्धनको सरकार बनेपछि अधिनायकवाद तथा एकतन्त्रिय शासन नआउने प्रष्ट पारे ।
जनताले अनुभूति गर्ने गरी विकास र समृद्धिका कार्य चाँडो शुरु गरिने बताउँदै उहाँले पाँच वर्ष भित्रमा आर्थिक सशक्तिकरणका माध्यमबाट सामाजिक रुपान्तरण गरी देशको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गरे ।