उम्मेदवारहरुको चुनाव प्रचार सकिएको छ । मंसिर १८ गतेको रातिदेखि मौन अवधि शुरु हुने भएकाले दल र उम्मेदवाहरुले प्रचारप्रसार सकेका छन् । दाङ यसपटकको निर्वाचनमा निकै चर्चामा रह्यो, त्यसको मुख्य कारण थियो– उपप्रधानमन्त्री कृष्णबहादुर महराको चुनावी दौड । महराले जति दिन जहाँ पुगेर प्रचारप्रसार गरे, त्यो धेरैका लागि चासोका बिषय बनिरह्यो र सञ्चारमाध्यममा पनि प्रशस्त कभरेज भयो ।

111-1024x683दाङ २ बाट चुनाव लडेका महरा दाङका लागि नयाँ नाम भने होइन । उनी २०६४ सालमा अहिलेकै क्षेत्र समेटिएको दाङ ३ (त्यतिबेला पाँच क्षेत्र थिए) बाट भारी मतले विजयी भएका थिए ।

यसपटकको महराको चुनावी प्रचारशैली अन्य उम्मेदवारको भन्दा निकै फरक देखियो । महराले कांग्रेसका उम्मेदवार राजु खनालसँग प्रतिष्पर्धा गरिरहेका छन् तर उनले कतै पनि प्रतिष्पर्धी उम्मेदवारको नाम लिएनन् र बिरोध पनि गरेनन् । कतिपय सवालमा कांग्रेसको नीतिगत आलोचना गरे पनि उनले कांग्रेस नेताहरुलाई कतै लाञ्छित गरेनन् ।

प्रतिष्पर्धीको बिरोध नै नगर्ने प्रचारशैली किन अपनाए महराले ? उनी भन्छन्– यसका कारणको खोजी त तपाइँहरुले नै गर्ने हो, म अरुको विरोध गरेर चुनाव जितिन्छ भन्ने मान्यतामा विश्वास राख्ने मान्छे नै होइन, आफ्नो आदर्शविपरीत काम किन गरुँ ?

आफ्ना लागि चुनाव नयाँ नभएको र आफ्नो त्यस्तो स्वभाव नभएको प्रष्ट पारे । २०४८, २०६४ र २०७० सालमा चुनाव जितेर ह्याट्रिक गरिरहेका महरा चौथोपटक चुनाव लड्दै छन् । त्यसैले आफ्ना लागि चुनाव नयाँ नभएको, आफू चाँडै आत्तिने र मात्तिने मान्छे नभएकाले पनि कसैको बिरोध गर्नु आवश्यक नठानेको महराको भनाइ छ ।

उनले यसको अर्को कारण पनि खुलाए । ‘तपाइँले कारण नै खोज्नुभयो, मलाई के लाग्छ भने म २०५८ सालदेखि शान्ति प्रक्रियामा छु र निरन्तर शान्तिवार्ताको नेतृत्व गरें’– उनले थपे– ‘शान्ति वार्ताको नेता भएर होला अरुजस्तो आक्रोश पोख्दै हिड्ने मेरो रुचिको बिषय बनेनन्, त्यति मात्र होइन, म पटकपटक पार्टीको बिदेशविभाग प्रमुख र परराष्ट्रमन्त्री पनि भएको छु, यसले ममा कूटनीतिक सामथ्र्यको पनि विकास गरेको छ र अरुको बिरोध होइन, आफ्नो एजेण्डा अघि सारेर नै राजनीति गर्नुपर्छ भन्ने सभ्य देशका नेताहरुको छाप पनि ममाथि परेको हुनसक्छ ।’

खासगरी यसपटकको चुनावमा थप शालीन हुनुको कारण अझ फरक रहेछ । ‘म तपाइँलाई एउटा पक्ष बताउँ, म यहाँ चुनाव लड्नुपर्छ भनेर हाम्रो पार्टी माओवादी र गठबन्धन बनिसकेपछि एमाले नेता कार्यकर्ताको त जोड थियौं नै, कांग्रेसमा आस्था राख्ने थुप्रै व्यक्ति र सामाजिक क्षेत्रमा नेताहरु मलाई काठमाडौंमा महिनौंदेखि भेटेर तपाइँ अब दाङबाटै चुनाव लड्नुपर्छ र दाङलाई अभिभावकत्व दिनुपर्छ भनेर आग्रह गर्नुभएको थियो’– उनले रहस्य खोल्दै भने– ‘नभन्दै म आएपछि उहाँहरुको ठूलो सद्भाव पाएको छु ।

अन्य विचार राख्ने धेरै साथीहरुले समूह बनाएर र व्यक्तिगत रुपमा मेरो छुट्टै प्रचार पनि गरिराख्नुभएको छ । कतिपय साथीले मलाई सोध्छन्– तपाइँ भाषण गर्दा प्रतिष्पर्धी दल र उम्मेदवारको किन बिरोध गर्नुहुन्न ? एक त यो मेरो प्रवृत्ति होइन, दोस्रो कुरा तपाइँको प्रश्नसँग पनि सम्बन्धित छ । मलाई अन्य दलका नेता कार्यकर्ताले समेत ठूलो आशा गरेकाले र उनीहरु समेत मतदानका लागि तयार भइसकेकाले म त साझा उम्मेदवारजस्तो भइसकें । खासगरी परिवर्तन रुचाउने, मेरो राष्ट्रिय अन्तर्राष्ट्रिय पहुँचको उपयोग गरेर दाङको समृद्धि गर्न चाहने र दाङलाई प्रदेश राजधानी चाहने सबै विचार र दलसँग आस्था राख्ने साथीहरुको मलाई समर्थन छ ।’ सिस्ने अनलाइनबाट
तस्विरः घोराहीमा आयोजित एक कार्यक्रममा प्रतिष्पर्धी राजु खनालका साथ कृष्णबहादुर महरा