साथमा चुनावी अभियानका ३३ दिन ३३ तस्बिरमा

डिल्ली मल्ल

दाङ । मौन अवधि शुरु हुनुभन्दा ६ घण्टाअघि दाङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार कृष्णबहादुर महरा घोराही–१७ धोब्बेमा चुनावी भेटघाटमा व्यस्त थिए ।

वाम गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा होमिएका माओवादी केन्द्रका नेता महराको कार्यतालिकामा अझैं कार्यक्रमको लामो लिस्ट छ तर अबको ६ घण्टाभित्रै चुनावी कार्यक्रमहरुको बिट मार्नुपर्ने समयसीमाको चापमा छन् उनी ।

गत कार्तिक १६ गते मनोनयन दर्ता गरेसँगै शुरु भएको चुनावी अभियानको दौडधुपले उनी राम्रोसँग सुस्ताउन पाएका छैनन् । हरेक दिन कम्तीमा २० वटा कार्यक्रम, दर्जनौं साना–ठूला भेटघाट त दैनिक रुटिनभित्रका कार्यक्रम नै भए ।

त्यसका अतिरिक्त रेडियो, पत्रपत्रिका, टेलिभिजन, अनलाइन र फेसबुक लाइभसम्मका कार्यक्रमहरुलाई समय मिलाउनु, अन्तर्वार्तामा आफ्ना चुनावी एजेण्डाहरुको विश्लेषण गर्नु र आफ्ना पक्षमा मतदानका लागि आग्रह गर्नु उनको नियमित दिनचर्या नै बने पछिल्ला ३३ दिन ।

महराका चुनावी कमाण्डर माओवादी केन्द्रका नेता हेमराम शर्मा ‘डायमण्ड’का अनुसार ३३ दिनको अवधिमा बंगलाचुलीदेखि छिल्लीकोट, मानपुरलगायत क्षेत्र नं. २ का सबै वडा तथा गाउँहरु करिब साढे ६ सय साना ठूला चुनावी सभा तथा भेलाहरु सम्पन्न भएका छन् ।

कतै महरा एक्लै त कतै प्रदेश सभा सदस्यका उम्मेदवार शंकर पोख्रेलको साथमा, कतै प्रदेश सभा सदस्यका उम्मेदवार अमरबहादुर डाँगीको साथमा चुनावी कार्यक्रमहरु गरिए । त्यस्ता कुनै कार्यक्रम छैनन्, जहाँ महराले उभिएर प्रतिबद्धता सुनाउनु नपरेको होस् ।

‘कहिलेकाँही त लाग्दो बुढालाई, अरुले यसो भाषण गरिदिए हुँदो हो, एकछिन आराम गर्थेँ, डायमण्डले ठट्टा गर्दै सुनाए, ‘हामीले भाषण गरेर भएन, सबैले उम्मेदवारकै मुखबाट सुन्न चाहन्छन् ।’ तर उमेरले ६० पुगे पनि युवाहरुभन्दा बढी ऊर्जाशील, त्यत्तिकै जाँगरिलो र कत्ति थकान महसुस नगर्ने नेताको रुपमा महरालाई आफूले पाएको डायमण्डले बताए ।

चुनावी अभियानका दौरान महरा आफ्ना एजेण्डाहरु बुँदागत रुपमा राख्छन् र ती एजेण्डाहरु पूरा गर्न सक्ने आधारहरु तर्कपूर्ण रुपले प्रस्तुत गर्छन् ।

के छन् त महराका मुख्य एजेण्डा ?

समृद्ध दाङ निर्माण उनको पहिलो र मुख्य एजेण्डा हो । ‘उनले नारा नै बनाएका छन्, ‘समृद्ध नेपालका लागि समृद्ध दाङ– हाम्रो अभियान !’ त्यस्तै, उनको सपना छ– ‘समृद्ध दाङ– सुखी दङाली, शान्त नेपाल– स्वाधीन नेपाली !

उसो त महराको चुनावी अभियानका साक्षी डायमण्डले महराको एउटा वाक्य हजारभन्दा धेरै सुनिसकेका छन् सायद । त्यो वाक्य हो– ‘दाङलाई ५ नं. प्रदेशको राजधानी मात्रै हैन, पश्चिम नेपालकै केन्द्र (Hub) बनाउने ।’

दाङलाई आर्थिक, साँस्कृतिक, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत सबै हिसाबले हव अर्थात् केन्द्र बनाउने संकल्प नै महराको समृद्ध दाङ निर्माणको मुख्य एजेण्डा हो ।

महराले आफ्नो चुनावी प्रतिबद्धता पत्रमा समेत विशेष जोड दिएर दाङको समृद्धिको आधार कृषि, पर्यटन, जलस्रोत र पूर्वाधारको उच्चतम विकास हुनुपर्ने उल्लेख गरेका छन् ।

उनी भन्छन्, ‘भूमिको उचित ब्यवस्थापन गरी सिंचाइको प्रबन्ध गरेर कृषि क्षेत्रमा आकर्षण बढाउने मात्र होइन, दाङलाई कृषि क्षेत्रमा देशकै कूल ग्राहस्थ उत्पादनमा योगदान पु¥याउने गरी अघि बढाउने मेरो योजना छ ।’ त्यसका लागि अल्पकालीनरुपमा जिल्लाका ठाडा खोलामा हाइड्याम तथा दीर्घकालीनरुपमा डाइभर्सनबाट दाङमा पानीको आपूर्ति गर्ने उनको योजना रहेको छ ।

त्यस्तै, यातायात सञ्जाल निर्माण गर्नु दाङको दोस्रो महत्वपूर्ण काम भएको महराको ठम्याई छ । प्रादेशिक राजधानी मात्रै हैन, सडक सञ्जालले चीन र भारत जोडेर दाङलाई ट्रान्जिट प्वाइन्ट बनाउनेसम्मका सपना देखेका छन् उनले ।

‘कोइलाबास–लमही–घोराही–सहिदमार्ग–डोल्पा सडकलाई पूर्णता दिएर भारतदेखि चीन जोड्ने र दाङलाई त्रिदेशीय ट्राञ्जिट प्वाइन्ट बनाउने योजना अघि बढिसकेको छ,’ उनी भन्छन्, ‘तत्काल सम्भव नहोला तर लुम्बिनी आउने रेललाई दाङ हुँदै दिपायल र रारा जोडेर चीनसम्म जोडियो भने दाङको कायापलट नै हुन्छ ।’

उनी भन्छन्– ‘घोराही–मुर्कुटी–प्युठान–अर्घाखाँची–पाल्पा–पोखरा सडक निर्माण गरेर प्रदेशका सबै जिल्लाको पहुँच प्रदेश राजधानीमा विस्तार गर्ने र चार नम्बर प्रदेश र पाँच नम्बर प्रदेशको राजधानीसँग कनेक्टिभिटी विस्तार गर्ने योजना छ । त्यस्तै तुलसीपुर–सुर्खेत–जुम्ला सडकलाई पूर्णता दिएर ६ नम्बर प्रदेशसँग जोड्ने योजना छ ।’

ठूला योजनाहरु सम्पन्न गर्दै गर्दा साना योजनाहरु स्वतः निर्माण प्रक्रियामा आउने र सम्पन्न हुने उनको तर्क छ ।

दाङ प्रादेशिक राजधानी अब आफ्नै कारणले सम्भव हुने महराको दावी छ । उनी भन्छन्, ‘दाङ प्रादेशिक राजधानी मेरो सपना हो । यसका लागि मैले सबै दलका शीर्ष नेताहरुलाई सहमत गराइसकेको छु, राजधानी घोषणा मात्र हुन बाँकी छ ।

आफूले यसो गरेँ, उसो गरेँ भन्दै भोट माग्नु इमान्दार राजनीतिज्ञका लागि नसुहाउने महराको तर्क छ । ‘काम गर्ने मान्छेले खुरुखुरु काम गरिरहेको हुन्छ,’ उनी भन्छन् ‘जसले काम गर्दैन, उसले नै ठूलो स्वरमा यो पनि मैले गरेँ, त्यो पनि मैले गरेँ भन्दै हिड्छ । मैले दाङको लागि कति काम गरेँ– व्यवहारले नै देखाउँछ ।’

उसो त राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान आफ्नो सपना भएको र अहिले अथक मेहनतले साकार भएको उनले बताए । आफूले दाङका लागि गरेका हजारौं कामहरुको लिष्ट नबनाएको भन्दै महराले एउटै कुरा गरे– ‘म अर्थमन्त्री भएको बेला दाङमा पाँच अर्ब बढी बजेट राख्न सफल भएँ । त्यतिबेला दाङको सडकमा ७७ करोड मात्र बजेट रहेछ, त्यसलाई झण्डै पौने तीन अर्बमा पु¥याएँ । यी प्रायः काम म यहाँको जनप्रतिनिधि नभएको बेला गरेको हुँ । अब यहीको जनप्रतिधि भएपछि महराले योभन्दा बढी नै गर्छ भन्नेमा दाङवासी ढुक्क छन् ।’

भौतिक विकासले मात्रै समृद्ध दाङ नबन्ने भन्दै महराले भौतिक विकाससँगै जनताको आर्थिक, सामाजिक अवस्था सुधार गर्नुपर्नेमा जोड दिएका छन् । उनले चुनावी सभाहरुमा विशेष जोड दिएर भन्ने गरेका पनि छन्, ‘शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सबै वर्गका जनताको पहुँच विस्तार गर्ने, उत्पादन बढाएर रोजगारका अवसर सिर्जना गर्ने, असक्तहरुको सामाजिक सुरक्षामा राज्यको दायित्व बढाएर लैजाने बिषयमा हामी अब योजनाबद्धरुपमा नै अघि बढ्नेछौं ।’

चुनावी अभियानका ३३ दिन हेर्नुस् ३३ तस्बिरमा