चितवन, १२ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो निर्वाचनमा बामपन्थी गठबन्धनलाई दुई तिहाइ बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताएका छन् ।

oli-prachandaचितवनको भरतपुर महानगरपालिका वडा नं २७ पर्साढापमा मंगलबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मंसिर १० मा भएको निर्वाचनमा बामपन्थीको पक्षमा दुई तिहाइ मत खसेको आफू र एमाले अध्यक्ष केपी ओलीको निष्कर्ष रहेको भन्दै मंसिर २१ मा हुने निर्वाचनमा पनि गठबन्धनका पक्षमा दुई तिहाइ मत खस्ने दावी गरे ।

बाम गठबन्धनका तर्फबाट चितवन निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार समेत रहेका प्रचण्डले सम्बोधनका क्रममा भने ‘केपी ओलीजीसँग आज बिहानमात्रै मेरो आधा घण्टा टेलिफोन कुराकानी भयो, निर्वाचन भएका ३२ जिल्लामा गठबन्धनका पक्षमा दुईतिहाइ मत खसेको छ भन्ने हाम्रो निश्कर्ष छ । बाँकीमा पनि त्यो सम्भव छ ।’

प्रचण्डले थपे ‘हामीले गल्ती गर्यौ भने देश दुर्घटनामा जान सक्छ, संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आउन हजारौको बलिदान भएको छ । पहिलो संविधानसभाले संविधान दिन नसकेको उदाहरण हाम्रा सामु छ । तर, दोस्रो संविधानसभामार्फत संविधान त बन्यो तर, त्यो संविधान कार्यन्वयन होला नहोला भन्ने चिन्ता थियो । त्यसपछि स्थानीय निर्वाचन भएर स्थानीय सरकार गठन भैसकेको छ । अव प्रदेश र केन्द्र सरकारको निर्वाचन हुदैछ । यो निर्वाचनमार्फत एमाले र माओवादीले ठुलो निर्णय लिएर गठबन्धन बनाएका हौ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र फेरी पनि दलाल र समन्तहरुकै हुनेहो कि भन्ने खतरा रहेका बेला एमालेका केपी ओली र माओवादीका प्रचण्ड अध्यक्ष बन्नु संयोग र सौभाग्य नै मान्नुपर्ने भन्दै दुवै नेता पार्टी एकीकरण गरेर सम्बृद्धि र स्थायीत्वका लागि निर्णय लिइएको प्रचण्डको भनाई थियो ।

प्रचण्डले फुटेका कांग्रेसहरु पनि एक हुन सुझाव दिदै जनतालाई राहत र विकास दिनतर्फ लाग्न आग्रह गरे । पार्टी एकीकरण गर्ने नेपाली जनता र देशको विकासका लागि भएको भन्दै उनले यो निर्वाचनबाट बामपन्थीले बहुमतको सरकार बनाएर ५ बर्ष राम्रो काम गरेपछि ५० बर्ष शासन गर्ने अवसर आउने बताए ।