काठमाडौं, ११ मंसिर। पहिलो चरणमा आइतवार ३२ जिल्लामा सम्पन्न निर्वाचन पछि अधिकांश मतदानस्थलबाट मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाम ल्याउने काम सकिएको छ ।

inddकुल दुई हजार ९ सय १७ मतदानस्थलमध्ये दुई हजार ५७ मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाम ल्याइएको निर्वाचन आयोगले बताएको छ । बाँकी रहेकामध्ये १ सय २९ मतदानस्थलका मतपेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाम ल्याउने तयारी भइरहेको र अन्य ७ सय ४१ मतदानस्थलका मतपेटिका पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणमा आइतवार सम्पन्न मतदानमा ६५ प्रतिशत मतदान भएको थियो । पहिलो चरणमा मतदान भएका स्थानको मतगणना मङ्सिर २१ गते दोस्रो चरणको मतदान सकिएपछि मात्रै शुरु हुनेछ । रासस