काठमाडौं, ११ मंसिर। छिटफूट घटनाबाहेक पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ । ३२ जिल्लामा भएको निर्वाचनमा आइतवार साँझसम्ममा प्राप्त प्रारम्भिक विवरणअनुसार ३१ लाख ९१ हजार ९ सय ४५ मतदातामध्ये ६५ प्रतिशत मतदानमा सहभागी भएको निर्वाचन आयोगले बताएको छ । खसेको मत प्रतिशत बढ्न सक्ने आयोगले बताएको छ । प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्र गरी १ सय ११ सांसदका लागि ७ सय २ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सबैभन्दा बढी बाजुरा जिल्लामा ८० प्रतिशत मत खसेको छ ।
पहिलो चरणको निर्वाचनका लागि तोकिएका ४ हजार ४ सय ६५ मतदान केन्द्रमध्ये दुई ओटा केन्द्रको मतदान स्थगित गरिएको छ । अन्य सबै स्थानमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भएको प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले बताए । उनले भने, ‘मतदानमा उत्साहजनक रुपमा सहभागि मतदाता संविधान कार्यान्वयनलाई पूर्णता दिन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र मुलुकमा राजनीतिक स्थायित्व दिने कार्यमा नेपाली जनता प्रतिबद्ध रहेको स्पष्ट भएको छ ।’ पहिलो चरणजस्तै मङ्सिर २१ गते हुने दोस्रो चरणको निर्वाचनलाई सफल पार्नका लागि आयोगले सरकार, राजनीतिक दल, उम्मेदवार, मतदाता, सुरक्षा निकाय, मित्र राष्ट्रलगायत सम्बद्ध सबैसँग सकारात्मक सहयोगका लागि आग्रह गरेको छ ।
आइतवार सम्पन्न निर्वाचनका क्रममा केही स्थानमा बम बिस्फोटका घटना र केही स्थानमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भए पनि मानवीय क्षति नभएको राष्ट्रिय मानव अधिकार आयोगले बताएको छ । निर्वाचनको अनुगमन गर्दै आयोगले बम विस्फोटका घटना, चिसो मौसम तथा भौगोलिक विकटता हुँदाहुँदै पनि मतदाता मताधिकार प्रयोग गर्न मतदान केन्द्रमा पुगेको पाइएको बताएको छ ।
मतगणना २१ गतेपछि
आइतवार निर्वाचन सम्पन्न भएका सबै मतदान स्थलबाट सुरक्षित तरिकाले जिल्ला सदरमुकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका सङ्कलन गर्ने कार्य भइरहेको आयोगले बताएको छ । आइतवार सङ्कलन गर्न नसकिएका मतपेटिका सोमवार सुरक्षाकर्मीको रोहवरमा सदरमुकाम लगिने छन् । यसका लागि हेलिकप्टरमा समेत मतपेटिका ओसार्न लागिएको छ । सङ्कलित मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारहरूको सहमतिमा विश्वसनीय ढङ्गबाट सुरक्षित स्थानमा राख्ने प्रवन्ध मिलाइएको आयोगले जानकारी दिएको छ । पहिलो चरणमा मतदान भएका क्षेत्रको मतगणना मङ्सिर २१ गते हुने दोस्रो चरणको निर्वाचन सकिएलगत्तै शुरू गरिने बताइएको छ ।
दुई केन्द्रको मतदान स्थगित
पश्चिम रुकुमको बाँफिकोट गाउँपालिकाको वडा नं। ५ मा रहेको रत्न मावि काँडा ‘क’ र आठविसकोट नगरपालिका ११ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गत्तासैना ‘ख’ मतदान केन्द्रमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिकामा आगो लगाएका कारण मतदान स्थगित गरिएको मुख्य निर्वाचन कार्यालय रुकुमले जानकारी दिएको छ । स्थगित भएको स्थानमा निर्वाचन अधिकृतले पुनः मतदानको व्यवस्था गर्ने बताइएको छ ।
तिङ्लामा शून्य भोट
स्थानीय तहको निर्वाचन बहिष्कार गरेका सोलुखुम्बुको तिङ्लावासीले आइतवारको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन पनि बहिस्कार गरेका छन् । राज्य पुनः संरचनाप्रति असन्तुष्टि ब्यक्त गर्दै त्यहाँका वासिन्दा निर्वाचनमा सहभागी नभएका हुन् । गत वर्षको चैत १ गतेदेखि आन्दोलन शुरू गरेका तिङ्लावासीले स्थानीय तहको निर्वाचनमा पनि ‘नो भोट, नो क्याण्डिडेट’ अभियान चलाएका थिए । जिल्ला निर्वाचन कार्यालयले तिङ्ला क्षेत्रमा स्थापना गरेको पाँच ओटा मतदान केन्द्रमा एक भोट पनि नखसेको सिंहकाली मावि मतदान केन्द्रमा खटिएका खेमराज भट्टराईले बताए । साविकको गाविस रहेको तिङ्लामा २ हजार ५ सय ७५ मतदाता छन् । राज्य पुनःसंरचनाका क्रममा नेचा सल्यान गाउँपालिकामा गाभेको भन्दै तिङ्लावासीले आफूहरूलाई सोलुदूधकुण्ड नगरपालिकामा समावेस गर्न माग गर्दै आएका छन् । अभियानबाट










