सिंगो जिन्दगी नै गीतसंगीतमै बिताएका जनवादी गायक खुशीराम पाख्रिन गीत गाउँदा गाउँदै हामीमाझबाट बिदा भए । मृत्युले पनि कहिलेकाहीँ कस्तो संयोग जुराउने रहेछ । वाम गठबन्धनले मंगलबार चितवन भरतपुर बसपार्कमा चुनावी सभाको आयोजना गरेको थियो ।

Khushiram-pakhrinप्रकाश दाहालको आकस्मिक निधन भएपछि यो सभालाई श्रद्धाञ्जली सभामा परिणत गरिएको थियो । प्रकाशको ठूलो फोटो राखिएको थियो र माला लगाइएको थियो । प्रचण्डसहित प्रचण्ड पत्नी सीता पनि सभामा उपस्थित थिइन् ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार तथा जनवादी गायक खुशीराम पाख्रिनले सभाको सुरुमा एउटा गीत गाएका थिए । गीतमार्फत् नै अबको भविष्य युवाहरुको हो भन्दै सन्देश दिएर स्टेजबाट तल ओर्लिएका पाख्रिन रिङ्गटा लाग्यो भन्दै ढलेका थिए ।

उनलाई स्थानीय माओवादी कार्यकर्ता र वाइसिएलको सहयोगमा तत्काल उनलाई नारायणी सामुदायिक अस्पताल लगियो । अस्पताल पुगेको केही समयमा नै उनको मृत्यु भयो । चिकित्सकका अनुसार उनलाई हृदयघात भएको थियो ।

श्रद्धाञ्जली सभामै उनको मृत्यु भएको खबर सुनाएर श्रद्धाञ्जली दिइयो।

यही गीत नै उनले गाएको अन्तिम गीत बन्न पुग्यो । (हेर्नुस् गीत भिडियोमा)

चितवनको भरतपुर महानगरपालिका–१९ रामपुर घर भएका पाख्रिनको जन्म वि.सं. २००९ मा भएको थियो। ६५ वर्षीय पाख्रिनका श्रीमतीसहित एक छोरा र दुई छोरी छन् । एक छोराको जनयुद्धकालमै २०६१ सालमा लमजुङमा सहादत भएको थियो ।