काठमाडौं, ५ मंसिर । छातीमा समस्या देखिएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि सोमबार राजधानीको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका छन् । श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका नेता निधिलाई छातीरोग विशेषज्ञ डा.सुबोध सागर ढकालसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ ।

bimalendra-nidhi

चिकित्सकले उनलाई श्वास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया हुनसक्ने आशंका गरेको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले जानकारी दिए । निधि सोमबार अपराह्न ४ः३० बजे अस्पताल पुगेका थिए । जनकपुरमा चुनाव प्रचारप्रसार गर्ने क्रममा श्वास फेर्न गाह्रो भएपछि उनी सोमबार नै काठमाडौं आएका थिए । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता निधि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् ।