काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गराएर संविधान कार्यान्वयन गर्नु सरकारको प्रमुख दायित्व रहेको औंल्याउँदै सुरक्षाका सबै उपाय अवलम्बन गरी चुनावलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । गृह मन्त्रालयद्वारा सोमबार आयोजित प्रदेश नं। ३ को सुरक्षा गोष्ठीमा देउवाले निर्वाचन असफल पार्न खोज्ने विप्लवलगायत जुनसुकै समूहका व्यक्तिलाई पनि पक्राउ गरी जेल हाल्न निर्देशन दिए ।
गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपाली सेनाका उच्च सुरक्षा अधिकारी र गृह मन्त्रालयका उच्च पदाधिकारी सम्मिलित गोष्ठीमा प्रधानमन्त्री देउवाले भने, ‘विप्लवलगायत विभिन्न समूहबाट उम्मेदवारमाथि आक्रमण गर्ने, बम पड्काउने र जनमानसमा त्रास र भय सिर्जना गर्ने काम भएको छ, त्यसैले त्यस्ता पक्षलाई पक्राउ गरेर जेल हाल्नुपर्छ ।’
उनले बुथ क्याप्चर गर्नेसम्मका प्रयास हुन सक्ने भन्दै त्यसतर्फ सचेत रहँदै यस्ता हर्कत निस्तेज पार्न सुरक्षा निकाय सक्षम हुनेमा विश्वास व्यक्त गरे ।देउवाले निर्वाचन हुन नसके लामो संघर्षबाट ल्याइएको संविधान कार्यान्वयन सफलतापूर्वक गर्न पनि निर्वाचन सफल पार्नुपर्नेमा जोड दिए ।
‘लामो लडाइँबाट हामीले संविधान बनाएका छौं । संविधान कार्यान्वयन गर्न निर्वाचन अत्यावश्यक छ । निर्वाचनमा जनताले निर्भिकतापूर्वक भोट हाल्न पाउनुपर्छ । सरकार बनाउने र प्रतिनिधि छान्ने काम जनताको हो । जनता नै देशका मालिक हुन् । जनतालाई पूर्ण सुरक्षा दिन आवश्यक छ’, उनले भने।
प्रधानमन्त्री देउवाले सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवारीमा रहेको प्रहरीको चेन अफ कमान्डको पनि उचित व्यवस्थापन जरुरी रहेको औंल्याए ।३ नम्बर प्रदेशमा उपत्यका तीन जिल्लासहित रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, मकवानपुर, चितवन र धादिङ पर्छन् । यी जिल्लामा नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादीले केही दिनयता गतिविधि बढाएको छ ।
नुवाकोटमा अघिल्लो साता कांग्रेस नेता डा।रामशरण महतलाई लक्ष्य गरी बम विस्फोट गराइएको थियो । विस्फोट विप्लवकै कार्यकर्ताले गराएको पुष्टि प्रहरीले गरिसकेको छ ।
गोष्ठीमा गृहसचिव मोहनकृष्ण सापकोटाले निर्वाचनका खटिएर राम्रो काम गर्ने सुरक्षाकर्मीलाई पुरस्कृत गरिने बताए ।गोष्ठीमा क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेले सुरक्षाका दृष्टिले चितवन चुनौतीपूर्ण जिल्ला रहेको रिपोर्टिङ गरेका थिए । अन्नपूर्ण पोष्टबाट
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)