काठमाडौ । बिहीवार राजधानीमा दर्शन सम्बन्धि विद्वान एवं दर्शनप्रेमीहरूबिच विमर्श गरियो । अन्तर्राष्ट्रिय दर्शन दिवसको अवसर पारेर नेपाल प्रज्ञा–प्रतिष्ठानको दर्शन विभाग र युनेस्को काठमाडौँद्वारा संयुक्त रूपमा आयोजित दर्शन गोष्ठीमा यसरी विमर्श गरिएको हो ।

युनेस्कोसँगको सहकार्यमा प्रज्ञा–प्रतिष्ठानले दुई वर्षदेखि निरन्तर दर्शन गोष्ठी गर्दै आएको छ । हरेक वर्ष फरक फरक नाराका साथ अन्तर्राष्ट्रिय दर्शन दिवस मनाउँदै आएको युनेस्कोले यस वर्ष ‘फिलोसोफी एन्ड कम्युनिटी’ भन्ने नारा तय गरेको थियो ।
गोष्ठीलाई सम्बोधन गर्दै प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले शिक्षामा दर्शनको विशिष्ट महत्व रहने बताउनु भयो । उहाँले भन्नुभयो, “हाम्रो दशेको शिक्षा प्रणालीमा दर्शन नमिसिएकै कारण हामी पछाडि परेका हौँ ।” विचार र चिन्तनको रुपान्तरणमा दर्शनले ठूलो सहयोग पुगने उहाँको दाबी रहेको थियो ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले मातृभाषा र अन्तर्राष्ट्रिय दर्शन दिवसका अवसरमा युनेस्कोले सहकार्य गरिरहेको उल्लेख गर्दै दर्शन गोष्ठी प्राज्ञिक विमर्शको एउटा सिलसिला भएको धारणा व्यक्त गर्नुभयो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा।डा। जीवेन्द्र देव गिरीले विगत केही वर्षअगाडिदेखि दर्शन सम्बन्धि उल्लेखनीय कार्यहरू गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, “दर्शन विभागबाट हुने दर्शनसम्बन्धी विभिन्न गोष्ठी र सोही विभागको प्रकाशन ‘दर्शनावली’ विशेष उपलब्धि हुन् ।”
उक्त अवसरमा युनेस्को काठमाडौँका शिक्षा प्रमुख बलराम तिमल्सिनाले युनेस्कोका नवनियुक्त महासचिवले पठाउनु भएको शुभकामना–पत्र पढेर सुनाउनु भएको थियो ।
प्रज्ञा–प्रतिष्ठान, दर्शन विभाग प्रमुख प्राज्ञ दिनेशराज पन्तले दर्शन जीवनको एउटा अनिवार्य पाटो भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले जीवनलाई मार्गदर्शन गर्ने विचार राख्नुभयो ।
गोष्ठीमा प्राध्यापक विद्यानाथ उपाध्याय भट्टले ‘नेपालमा शाक्त धर्म, दर्शनको परम्परा’, प्राध्यापक जगत् उपाध्याय ‘प्रेक्षित’ले ‘दर्शन र शिक्षा’ तथा विष्णु प्रभातले ‘शैव दर्शन संक्षिप्त विमर्श’ शीर्षक गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गोष्ठीपत्रमाथि क्रमशः प्रा।डा। वीणा पौड्याल घिमिरे, सहप्रा।डा। जनार्दन घिमिरे र वेदुराम भुसालले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।
प्रज्ञा–प्रतिष्ठानकी उपप्रमुख लक्ष्मी गौतमद्वारा वैदिक मङ्गलाचरण गरी शुरुभएको कार्यक्रमको सन्चालन बुद्धि तिमल्सिनाले गर्नु भएको थियो भने गोष्ठीका प्रतिवेदक अभय शर्मा रहनुभएको थियो ।











