दाङ, १ मंसीर । मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि दाङमा कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेस दाङले आज शुक्रवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि घोषणपत्र सार्वजनिक गरेको हो । घोषणपत्रको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वसिचाई मन्त्री दिपक गिरी, जिल्ला सभापति किर्तीबहादुर खड्का लगायतका नेताहरुले सार्वजनिक गर्नुभएको थियो । घोषणपत्रमा जिल्लालाई गुईठामुक्त जिल्ला बनाउनेदेखि प्रदेश नम्बर ५ को प्रादेशिक राजधानी बनाउने विषय रहेका छन् ।
समृद्ध दाङ बनाउनका लागि प्रादेशिक राजधानी बनाउने, दिर्घकालिन विकासका लागि पूर्वाधार निर्माण गर्न दाङ र देउखुरी उपत्यकामा बृहत चक्रपथ निर्माण गर्ने, दाङ–देउखुरीको व्यवस्थित विकास निर्माणकालागि मास्टर प्लान तयार पर्ने, परिणममुखी विकास योजनलाई प्राथमीकता दिने घोषणपत्रमा समावेश गरिएको छ ।
घोषणपत्रमा उल्लेख भए अनुसार जिल्लालाई दाङ उपत्यकालाई स्मार्ट सिटीको रुपमा विकास गरिनेछ, एक घर एक रुख एक वडा एक उद्यान कार्यक्रम लागु गरिनेछ, दाङमा इन्धनको रुपमा गुइठा प्रयोग गर्ने परिवारलाई वैकल्पिक इन्धनतर्फ उन्मुख गराई गुईठा प्रयोगमुक्त बनाईने छ । यस्तै जलस्रोत संरक्षणका लागि अल्पकालित र दिर्घकालिन योजना निर्माण गरिनेछ भने लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेश चन्द्र थापा लगायत देशका सहिदहरुको सम्झनामा दाङको महत्वपूर्ण ठाँउनमा सहिद स्मारक बनाइने छ ।











