नुवाकोट, १ मंसिर । कांग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार डा. रामशरण महतको प्रचारमा रहेको गाडी एम्बुसमा परेको छ । एम्ब्समा परेरगाडी पल्टिँदा पाँच जना घाइते भएका छन् ।
चुनावी कार्यक्रममा गइरहेको बा १६ च ६६५ नम्बरको गाडी ककनी गाउँपालिकामा एम्बुसमा परेर पल्टिँदा ५ जना घाइते भएका नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिए ।
घाइते भएका उपेन्द्र मिश्र, सविन लामा, यसकुमार तामाङ, लिला घर्तीमगर र रमेश राईलाई उपचारको लागि काठमाडौं ल्याइएको छ । नेता महतलाई लक्षित गरि आक्रमण गरेको भए पनि उन सकुशल रहेको प्रहरीले जनाएको छ ।
ककनी गाउँपालिका ५ डाँडागाउँ शिकारीचौरमा गाडीमा विहान १० वजेतिर माईन बिस्फोट भएको थियो । गम्भिर घाइते मिश्र, राई र तामाङलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको महतले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
