इन्द्रेणी संवाददाता
दाङ २९ कार्तिक । माओवादी केन्द्रका प्रभावशाली नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले मतदाता भेटघाटका क्रममा दाङको घोराही स्थित भरतपुर खेलमैदान पुगेर युवा खेलाडीहरुलाई सरकारी स्तरबाट खेल मैदान निर्माणका लागि बजेट पठाइदिने निर्णय गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको साफ च्याम्पीयनसीप फुटबल प्रतियोगीताका लागि दाङमा हुने राष्ट्रिय खेलाडी छनोट खेल संचालन गर्ने मैदान मर्मत गर्न आवश्यक रकम सरकारले प्रदान गर्ने भन्दै उपप्रधानमन्त्री महराले निर्माणाधीन मैदानबाटै अर्थमन्त्रालयका सचिव संग टेलिफोन गरि बजेट सुनिश्चित गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने राष्ट्र स्तरिय उक्त खेल दाङमा संचालन हुनु गौरवको कुरा हो भन्दै महराले दाङमा खेलकुदको बिकास गर्न युवाहरुलाई हौसला प्रदान गरे ।
दाङको खेलकुद क्षेत्रको बिकासका लागि उपप्रधानमन्त्री महराले देखाएको यस्तो खालको सक्रियताले आफुहरुमा हौसला प्रदान गरेको भन्दै पुर्व राष्ट्रिय खेलाडी नरेन्द्र पुन सन्देश श्रेष्ठ लगाएतका खेलाडी युवाहरुले खुसी व्यक्त गरे ।