काठमाडौं २७ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मुखैमा आएर आफ्ना कार्यकर्ताहरुलाई करोडौं रुपैंया वितरण गरेका छन् । पहिलो चरणको निर्वाचन आउन १५ दिन मात्रै बाँकी रहँदा सरकारले करोडौं रुपैयाँ धमाधम वितरण गरेर गृहमन्त्री समेत रहेका प्रधानमन्त्रीले निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् ।
गृहमा यतिखेर प्रधानमन्त्रीको निर्देशनमा वितरण गरिएको चेक लिनेको भीड बढेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्दै सरकारलाई आर्थिक सहायता वितरणमा रोक लगाए पनि सरकारले त्यसलाई बेवास्ता गर्दै लाखौं रुपैयाँका चेक वितरण गरेको हो ।
गृह मन्त्रालयले एभरेस्ट बैंकको चेक काट्दै आफ्ना नजिकका कार्यकर्तालाई ५० हजार देखि ५ लाख रुपैयाँसम्म दिइरहेको छ । चुनाव लक्षित गरि गृहले १८ करोडभन्दा बढी रकम मन्त्रालयबाटै वितरण गर्न थालेको छ ।
।
स्पष्टीकरण सोध्छैाँ : प्रमुख आयुक्त यादव
निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको मुखमा सरकारका कुनै पनि निकायले कुनै प्रकारको आर्थिक सहायता वितरण गर्न नपाउने स्पष्ट पारेका छन् । यस बिषयमा प्रतिक्रिया माग्दा प्रमुख आयुक्त यादवले भने ‘गृह मन्त्रालयले आर्थिक सहायता वितरण गरेको छ भने त्यो निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन हो, हामी तत्काल स्पष्टीकरण सोध्छैाँ’, ।
