सविन प्रियासन
प्रिय शिलु ! सम्झनाका लहरहरु ! म यतिबेला दाङको सबै भन्दा बिकट क्षेत्रमा छु । दाङको दक्षिणी भेगमा
भारतीय सीमासँग जोडिएको नाका क्षेत्र छ । दाङ जिल्ला भित्रि मधेशमा पर्छ । सुगम जिल्लामा दाङ गनिन्छ । तर सुगम जिल्ला भएर पनि यहाँको नाका क्षेत्र नेपालकै विकट क्षेत्रहरुमा पर्छ । विकट्ता सँगसँगै असुरक्षाका चाँगहरु यहाँका बासिन्दाहरुले दिनदिनै खेप्नु परिरहेको छ । सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम आउन तीनचारदिन लाग्छ । घरखर्चका लागि सामान्य कुराहरु किन्नका लागि पनि भारत धाउँनु पर्छ । यहाँ राज्यका कुनै पनि कार्यालयहरु छैनन् । यति हुँदा–हुँदै पनि यहाँ हजारौ मानिसहरु विभिन्न ठाउँमा वर्षौदेखि छरिएर बसेका छन् । एकप्रकारले यहाँका मानिसहरु सीमा रक्षक बनेर नेपालको साँघुरिदै गएको सीमालाई बचाउन भारतीय ज्यादतीलाई सहेर अहोरात्र पहरेदारी गरिरहेका छन् । सायद विकटताले भरिएका यी क्षेत्रहरुमा सच्चा अनि बहादुर नेपालीहरुको बसोबास हुँदैनथ्यो भने अहिलेसम्म नेपालको सीमा धेरै वारी आईसक्ने थियो ।
शिलु !
म तिमीसँग केही दिनको फरकमा फोनमा कुरा गर्नेछु भन्दै त्यहाँबाट फर्किएको थिए । तर तिमीलाई थाहा छ, यहाँका कतिपय मानिसहरुले फोनको मुख नै देखेका छैनन् । भारतमा कमाउन जाने केही युवाहरुले भारतबाट ल्याएको सीम प्रयोग गरेर नेपालमा रहेका आफन्तलाई फोन गर्दा रहेछन् । कारण नेपालको भूमी भएर पनि यहाँ नेपाली फोनको टावर लाग्दैन । न त ल्याण्डलाईन फोनको तारनै यहाँसम्म बिछ्याईको छ । भारतीय फोनको टावरले अहिलेसम्म रजाई गरिरहेको छ ।
विकट्ताको पराकाष्ठाभित्र जेलिएका यहाँका मानिसहरुलाई एउटा सलाई किन्नु परेमा भारतीय बजार जानुपर्छ । त्यहाँ जाँदा पनि भारतीय पक्षको रुखो बोली, अभद्र व्यहार दिनदिनै सहनुपर्छ । बाटोघाटो केही छैन । पिउने पानीका लागि खोलाखाली, खोल्साखाल्सी ताक्नुपर्छ । पढ्नका लागि छ–सात घण्टा हिँड्नुपर्छ । एकप्रकारले भन्ने हो भने पढ्ने विद्यार्थीको काम नै साँझबिहान हिँड्ने हुन्छ । सायद यहाँका विद्यार्थीहरु म्याराथुनमा सहभागि हुने अबसर पाउने भए उनीहरुले नेपालका लागि पदक जित्ने थिए होला ? बिरामी मान्छेका लागि औषधी किन्न गएको मान्छे नफर्कदै यहाँ बिरामीको ज्यान गईसकेको हुन्छ । यति दर्दनाक अवस्थामा मान्छेहरु जीवन यापन गर्छन् भन्ने मैले कल्पना नै गरेको थिएन । आज प्रत्यक्षरुपमा देखि रहेको छु ।
जुन व्यवस्था आएपनि निर्वाचनकाक्रममा सधैभरी नेताहरु भोट माग्न यहाँ आउँदा रहेछन् । दुःखको पहाड चढेर आश्वाशन बाँड्दै भोट सङ्कलन गर्न आउने नेताहरु त्यसपछिका दिनमा यहाँ देखिदै देखिदा रहेनछन् । तर तिमीलाई थाहा छ शिलु, नेताहरु गैरजिम्मेवार भएपनि यहाँका बासिन्दाहरुले अहिलेसम्म भोट हाल्ने आफ्नो दायित्वलाई बिर्सिएका छ्रैनन् ।
नाकाबासीको भोटले धेरै मानिसहरु मन्त्री समेत बनि सके । तर जितेपछि नेताको जिन्दगी फेरियो, तर भोट हाल्ने नाकाबासीको कथाव्यथा अहिले पनि उस्तै छ । जित्नेहरुका पाइला नाकामा कहिल्यै फर्किएनन्, नयाँ उम्मेदवारहरु आश्वासनका पोकाहरु बाँड्दै जान छाडेनन् । नाकाबासीहरु पनि आशाको त्यान्द्रामा लत्रिएर अहिलेसम्म भोट हाल्न छाडेका छैनन् । अहिले पनि उनीहरुले घण्टौ हिँडेर, लायनमा बसेर भोट हाल्न छाडेका छैनन् । उनीहरुमा अहिले पनि आशा छ, एकदिन हाम्रो पनि दिन आउँनेछ, असल, कामकाजी सरकार बन्नेछ, त्यसपछि नाका क्षेत्र भन्सारमा परिणत हुनेछ । उनीहरुको यही आशाले मलाई पनि नयाँ उर्जा मिलेको छ ।
म दाङको घोराहीमा बस्छु । दुरीका हिसाबले नाका क्षेत्रबाट ३० किलो मिटर होला । नेपालकै सबै भन्दा पुरानो र लामो महेन्द्र राजमार्ग नाकाबाट १०–१२ किलोमिटर टाढा होला, तर दुःखका साथ भन्नुपर्छ, कोशौकाष टाढा, बिकट ठाउँमा रहेको जस्तो नारकीय जीवन जिउँन नाका क्षेत्रका बासिन्दा बाध्य छन् । यहाँ आएपछि उनीहरुको पीडाले मन छियाछिया बनाएको छ । साथसाथै नाकाबासीको बहादुरीको कथाले जिन्दगीमा केही गर्न उर्जा मिलेको छ ।
दुःख, संघर्ष, समर्पण अनि आशाभरोशाले नै मान्छेलाई जिउँन सिकाउँदो रहेछ । तिमीलाई थाहा छ, यहाँ आएपछि उनीहरुको बहादुरीको अर्को कथा थाहा पाउने अबसर मिल्यो । भारतीय क्षेत्रबाट आउने लुटेरा अनि कहिले काँही भारतीय सुरक्षाकर्मीहरु समेत नाका क्षेत्रमा आएर त्यहाँ लुटपाट मच्चाउने, छोरीचेली माथि जबरजस्ती गर्नेलगायतका कार्यहरु गर्दा रहेछन् । त्यसपछि यहाँका बासिन्दाहरु एक ढिक्का भएर यस्ता कार्यहरुको बिरुद्धमा खबरदारी गर्न थालेपछि आजकाल धेरै समय भएको रहेछ, यस्ता कुकार्यहरु दोहोरिएका छैनन् रे ! नाका क्षेत्रमा हरेक कुराको समस्या छ, तर पनि यहाँका मानिसहरु कुनै न कुनै दिन हाम्रो पनि दिन आउँनेछ भन्ने आशामा बाँचि रहेका छन् ।
यहाँका मानिसहरुले पाहुना, अतिथिहरुलाई गर्ने मिठो अनि रहर लाग्दो आतिथ्यताले मेरो मननै छोएको छ । शहरमा पानी माग्दा मुस्किलले मन नलागि नलागि दिन्छन् । तर यहाँ अतिथि पाहुनाहरुको स्वागतमा दैनिकरुपमा खसि काटेर त्यो पनि नशुःल्करुपमा खुवाईन्छ ।
यहाँ आएपछि मलाई पनि जिन्दगीको महत्व बारेमा ज्ञात भएको छ । प्रेमलाई जीवनसँग दाँजेर हेर्न सक्ने क्षमता प्राप्त भएको छ । तिमीलाई मेरो जिन्दगीसँग जोड्ने मेरो तिब्र चाहना छ । म तिमीलाई आफू भन्दा पनि धेरै माया गर्छु । मलाई विश्वास छ, तिमी पनि मलाई त्यति नै माया गर्छौ । तर शिलु, म तिमीलाई मेरो जिन्दगीका सारा कुराहरुहरु जानकारी गराएर मात्र सम्बन्ध जोड्न चाहन्छु । म पनि विकासको आशामा बसेका नाकाबासी जस्तै, तिमीसँग मेरो जिन्दगी एकदिन जोडिनेछ, हामीले सदासदाका लागि खुशहाल जीवन व्यतित गर्नेछौं भन्ने आशामा छु ।
यो डायरीमा उतारेको मनको वह तिमीले पढ्दासम्म सायद यहाँ लेखिएका कुराहरु पुराना हुन सक्छन् । प्रसँग बदलिन सक्छ । अर्थात, धेरै ढिलागरी तिमीले यहाँ कोरिएका शव्दहरुको रसपान गरौली । जे होला, जतिबेला तिमीले यसको अध्ययन गरेपनि म तिमीलाई जीवनसाथीकारुपमा हेरिरहेको छु । यदि तिमीले मलाई साथ दिन ुसक्दैनौं, या म तिम्रो लायक छैन भन्ने तिमीलाई लाग्छ भने पनि तिमी प्रति मेरो कुनै गुनासो रहनेछैन । हरेक मानिसलाई आफ्नो जिन्दगीको बारेमा सोच्ने अधिकार छ क्रमस: ……..
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)