इन्द्रेणी संवाददाता

दाङ, १३ कार्तिक  । लामो रस्साकस्सीपछि वाम गठबन्धनले दाङमा उम्मेदवारको टुंगो लगाएका छन । एमालेका शंकर पोख्रेल र माओवादी केन्द्रका कृष्णबहादुर महरा दुबै नेताले दाङ क्षेत्र नम्बर २ मा दावी गरेपछि वाम गठबन्धनको क्षेत्र वाँडफाँड कार्यदललाई सहमति जुटाउन कठिन भएको थियो ।

पछिल्लो सहमति अनुसार दाङ २ बाट महरा प्रतिनिधिसभाका लागि र पोखरेललाई प्रदेशसभाका लागि उम्मेदवार बन्ने छन । पोखरेल प्रदेशसभाका लागि दाङ– २ (क) बाट उम्मेदवार बन्ने छन ।

वाम गठबन्धनमा पोखरेललाई ५ नम्बर प्रदेशको मुख्यमन्त्रीको साझा उम्मेदवार बनाउने सहमति भएको बातइएको छ । सार्थै दाङ २ (ख) मा एमालेकै अमर डाँगी उम्मेदवार बनेका छन्।

त्यसैगरी, क्षेत्र नम्बर १ र ३ भने एमालेले पाएको छ । प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ क्षेत्र रहेको दाङमा एमालेले प्रतिनिधिसभाका २ सहित कुल ६ र माओवादीले प्रतिनिधिसभाको १ सहित कुल ३ क्षेत्र पाएका छन्। प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर १ बाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य मेटमणि चौधरी उम्मेदवार बनेका छन्। प्रदेशतर्फ १ (क) मा माओवादीका इन्द्रजित थारु र १ (ख) मा एमालेका रेवतिरमण शर्मा उम्मेदवार बन्ने भएका छन्।

यस्तै क्षेत्र नम्बर ३ मा एमालेका हिराचन्द्र केसी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। ३ (क) मा माओवादीले उम्मेदवारी दिने पक्का भए पनि उम्मेदवारको टुंगो लागेको छैन। ३ (ख) मा भने एमालेका उत्तर ओली उम्मेदवार बन्ने छन ।