इन्द्रेणी संवाददाता
घोराही, १३ कात्तिक । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ताका लागि नेकपा एमाले दाङले पनि तयारी थालेको छ । सोमबार विहान एनेकपा माओवादीसंग संयुक्त बैठक बसेपछि दिउसो नेकपा एमाले दाङको नवौं पूर्ण बैठक बसेको थियो ।
नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काको अध्यक्षता तथा केन्द्रीय कमिटीका बैकल्पिक सदस्य शान्ता चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले कात्तिक १६ गतेका दिन मनोयन दर्ताका लागि व्यापक रुपमा जन परिचालन गर्ने निर्णय गरेको छ । त्यस अघि सवै स्थानीय पालिकामा माओवादी केन्द्रसंग संयुक्त बैठक बस्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

बैठकले निर्वाचनको मनोनयन दर्ताका दिन जनपरिचालन गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष हुकुमबहादुर बस्नेतलाई दिएको छ । यस्तै मञ्च व्यवस्थापनको जिम्मेवारी उप सचिव सुरामणि बेल्वासेलाई दिएको छ भने स्वयमसेवक परिचालनको जिम्मेवारी सचिवालय सदस्य मनोहर बुढाथोकीलाई दिएको छ । यस्तै प्रचार प्रसारको जिम्मेवारी सचिवालय सदस्य शरद अधिकारीलाई दिने निर्णय गरिएको नेकपा एमाले दाङका सचिव हिराचन्द्र केसीले जानकारी दिनुभयो । निर्वाचनका लागि मनोनयन दर्ताको तारतम्य मिलाउनका लागि अधिवक्ता भुपवहादुर केसीलाई जिम्मेवारी दिने निर्णय गरेको सचिव केसीले जानकारी दिनुभयो ।

यसैगरी नेकपा एमाले दाङले २०५१ साल कात्तिक १७ गतेका दिन विजौरी गोली काण्डको पनि सँझना गर्ने भएको छ । विजौरीमा भएको गोलीकाण्डको सँझनामा रक्तदान लगायतका कार्यक्रम गर्ने निर्णय गरिएको बताइएको छ । विजौरी काण्ड भएको स्थल विजौरीमा कार्यक्रम गर्ने निर्णय गरिएको बताइएको छ ।

बैठकलाई सम्वोधन गर्दै नेकपा एमालेकी नेतृ पूर्व सभासद शान्ता चौधरीले नेकपा एमाले र माओवादी केन्द्रका बीचमा गठवन्धन बनेको भन्दै यो गठवन्धनमा कसैले पनि शंका नगर्न आग्रह गर्नुभयो । उहाँले यो गठवन्धनले देशव्यापी रुपमा दुई तिहाई सिटमा जित हासिल गर्ने भन्दै यसका लागि खट्न सवैलाई आग्रह गर्नुभयो ।

बैठकलाई नेकपा एमाले समाजिक सेवा विभागका सदस्य विकीकरण गौतम, एमाले नेतृ कोमल वली लगायतले सम्वोधन गर्नुभएको थियो । बैठकको संचालन जिल्ला सचिव हिराचन्द्र केसीले गर्नुभएको थियो । बैठकमा माओवादी केन्द्र दाङसंग बसेर गरिएका सहमतिका बारेमा उप सचिव सुरामणि बेल्वासेले जानकारी गराउनुभएको थियो भने दुवै पार्टीले संयुक्त रुपमा जारी गरेको अपानी जिल्ला सचिवालय सदस्य शरद अधिकारीले बाचन गर्नुभएको थियो ।