काठमाडौ ४ कार्तिक । मंगलबार गृह मन्त्रालयमा माओवादीबाट सहभागी मन्त्रीले राजीनामा दिने र सरकार छाड्ने विषयमा जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको थियो । सोही सूचनाका आधारमा पत्रकारहरु त्यहाँ उपस्थित भएका थिए । तर, त्यहाँ त त्यसको उल्टो भयो अर्थात तत्कालिन गृहमन्त्री जनार्दन शर्माले माओवादीले पत्रकारलाई सरकार नछाड्ने बताए ।

यसको कारण थियो, प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने विषयमा छलफल अघि बढाएको सूचना माओवादी अध्यक्ष प्रचण्डसामू पुग्नु । दिउँसो देउवासँगको भेटमा सरकार संचालनलाई सहज बनाउन मन्त्री फिर्ता बोलाउने बचन दिएका प्रचण्डले देउवाले चुनाव सार्ने रणनीति बनाएका छन् भन्ने थाहा पाएपछि निर्णय परिवर्तन गरेको प्रचण्ड निकट स्रोत बताउँछ ।

माओवादीले एमालेसँग मिलेर वाम गठबन्धन बनाएपछि यतिबेला देउवामा चुनाव हार्ने डर छ । उनले तत्काल चुनाव गराउँदा कांग्रेस पत्तासाफ हुने देखिसकेका छन् । त्यसैले पनि माओवादीलाई सरकारबाट अलग गरेर जसरी हुन्छ चुनाव सार्ने उनको योजना रहेको कांग्रेसकै नेताहरु बताउँछन् । चुनाव सार्दा कांग्रेसलाई के–कति फाइदा हुन्छ त्यो पछिको कुरा होला तर, यसले देउवाको राजनीतिमा भने पक्कै पनि असर पर्नेछ ।

संसद विघटनसँगै अहिले सरकार ढाल्ने कुनै आधार छैन । त्यसैले देउवाले त्यसको फाइदा लिएर चुनाव सार्ने र सरकारको आयू लम्ब्याउने रणनीति बनाएका छन् । यस्तो रणनीति बनाइरहँदा उनले आफ्नो जिम्मेवारी, संविधान कार्यान्वयन र जनताको चाहनालाई बेवास्ता गरेको देखिन्छ । जसको मुल्यांकन जनताले गरिरहेका छन् । र, यसले कांग्रेस र देउवा दुवैलाई ओरालोमा ढकेल्ने देखिन्छ ।

त्यसो त अहिले नै देउवाले चुनाव सार्ने वियषयमा ओपचारिक धारणा सार्वजनिक त गरेका छैनन् तर, चौतर्फी विरोध, निर्वाचन आयोगको असहमतिमा चुनाव कसरी सार्छन् भन्ने चासो सबैमा छ । उता राष्ट्रपति पनि चुनाव सार्ने विषयमा सकारात्मक छैनिन् ।

लामो समय कुर्सीमा बसिरहने अभिलासामा देउवाले चुनाव सार्ने मनसाय बनाएका छन् भने त्यसले देशमा ठूलै आपत्ति ल्याउने निश्चित छ । यसबारे राजनीतिक विश्लेषकहरुले सैनिक शासन आउन सक्नेसम्मको आँकलन गरिसकेका छन् । त्यसैले देउवाले समयमै यसबारे सोच्न आवश्यक छ । काठमाडौटुडेबाट