सुर्खेत, २६ असोज । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्शन आयोजनाको सुरुङ खन्न प्रयोग हुने अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेशिन (टीबीएम) भित्रिएको छ ।
चीनको शाङ्हाईबाट भारतको कोलकाता हुँदै जमुनाहा नाकाबाट मेशिनका उपकरण भित्र्याइएको हो । यस्ता उपकरण बोकेका ५५ कण्टेनरमध्ये २० ओटा बाटोमै छन् । सबै कण्टेनर आइपुग्न करीब १ साता लाग्ने बताइएको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार २ सय ५० मिटर लामो उक्त मेशिन जडान गर्न २ महीना लाग्नेछ । मेशिन उत्पादक अमेरिकी कम्पनी रोबिन्सकै प्राविधिकले जडान गर्नेछन् । परीक्षणका लागि कम्पनीले ५ मिटर सुरुङ खन्नुपर्नेछ ।
आयोजना निर्माणको जिम्मा चाइना ओभरसिज इञ्जिनीयरिङ गू्रप लिमिटेड ९कोभेक०ले लिएको छ । सिँचाइ विभाग र कोभेकबीच २०७१ माघमा निर्माण शुरू गरी २०७५ फागुनमा सम्पन्न गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार अबको डेढ वर्षभित्र सुरुङ निर्माण गरिसक्नुपर्छ । आयोजना प्रमुख शिवकुमार बस्नेतले भूकम्प, नाकाबन्दी र बाढीपहिरोका कारण निर्माण कार्यमा केही असर पुगेको बताए । ‘२ वर्षभित्र सुरुङ निर्माण गरिसक्ने अपेक्षा छ,’ उनले भने, ‘निर्माणपूर्वका सबै संरचना तयार गरिसकेका छौं । नोभेम्बरपछि सुरुङ खन्ने काम शुरू गर्नेछौं ।’
टीबीएम पहाड फोर्न प्रयोग हुने चालकरहित अत्याधुनिक प्रविधिको मेशिन हो । अभियानमा अबर छ । नेपालमै पहिलोपटक यो मेशिनबाट सुरुङ निर्माण गर्न लागिएको छ । भेरी र बबई नदीबीचको १२ किमी लामो चुरे पर्वत खन्न यस्को प्रयोग हुँदै छ । टीबीएमका लागि आवश्यक ५ मिटर व्याससहित डेढ सय मिटर लामो प्रवेशद्वार मजदूरबाट खन्ने काम पूरा भइसकेको छ ।
यसैबीच, सिँचाइमन्त्री सञ्जय गौतमले भेरी–बबई आयोजनाको निरीक्षण गरेका छन् । सरकारले नमूना परियोजनाका रूपमा यसलाई अघि बढाएकाले निर्माणमा कुनै समस्या आउन नदिने प्रतिबद्धता उनले व्यक्त गरे । ‘यो पाइलट प्रोजेक्ट हो,’ उनले भने, ‘मुलुकको समृद्धिसँग जोडिएको आयोजनाको आर्थिकरप्राविधिक पक्षमा कुनै समस्या आउन दिँदैनौं ।’ अन्तर–जलाधार जल स्थानान्तरण परियोजनामध्ये भेरी–बबई मुलुककै पहिलो परियोजना हो ।
आयोजनामा चिनियाँ र नेपाली गरी २ सय ८६ जना कामदार छन् । सुर्खेतको भेरीगङ्गा नगरपालिकाअन्तर्गत छिञ्चु–जाजरकोट सडक खण्डको चिप्लेमा १५ मिटर अग्लो बाँध बनाई १२ किमी लामो सुरुङमार्फत भेरी नदीको प्रतिसेकेण्ड ४० घनमिटर पानी बबईमा फर्काइनेछ । बबईमा फर्काइएको पानीबाट ४८ मेगावाट विद्युत् तथा बाँके र बर्दियाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने आयोजनाको उद्देश्य छ । स्वदेशी लगानीमा निर्माण हुन लागेको यस आयोजनाको कुल लागत ९अनुमानित० साढे १६ अर्ब रुपैयाँ छ । बाह्रै महीना सिँचाइ उपलब्धताबाट कृषि उत्पादनमा वृद्धि भई आयोजनाबाट वार्षिक ३ दशमलव १ अर्ब अप्रत्यक्ष तथा विद्युत्बाट २ दशमलव १ अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान छ ।
