Deputy Prime Minister Krishna Bahadur Mahara talks with journalists upon his arrival from a visit to China, at the Tribhuvan International Airport, in Kathmandu, on Saturday, August 20, 2016. Photo: RSS

काठमाडौँ, १९ असोज ( रासस ) व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालको परराष्ट्र नीतिमा समयानुकूल परिमार्जन तथा सुधारका लागि विशेष छलफल सुरु गरेको छ ।

छलफलमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले नेपालमा ती मुलुकको स्वार्थ र नेपालको स्वार्थ विषयमा प्रष्ट पार्नुभएको थियो । सबै राजदूतले ती मुलुकले नेपालमा शान्ति र स्थायित्व होस् तथा नेपालका कारण आफूहरूलाई सुरक्षा धम्की नरहोस् भन्ने चाहेको जानकारी दिए ।

Deputy Prime Minister Krishna Bahadur Mahara talks with journalists upon his arrival from a visit to China, at the Tribhuvan International Airport, in Kathmandu, on Saturday, August 20, 2016. Photo: RSS

छलफलमा उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपाल विगतमा भनिए जस्तो दुई ढुंगाको तरुल नभई अब दुई समृद्ध ठूला देशको बीचमा रहेको एउटा हीरा भएको विचार व्यक्त गर्दै आर्थिक समृद्धि नै अहिलेको मुख्य विषय भएको बताउनुभयो । परराष्ट्रमन्त्री महराले भन्नुभयो, “हामी सबै छिमेकीलाई मित्र बनाउन चाहन्छौँ, कसैको दुश्मन बन्न चाहँदैनौँ, हामी राष्ट्रिय स्वार्थका लागि सबैसँग सहयोग लिएर समृद्ध मुलुक बनाउन चाहन्छौँ ।”

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा दिनेश भट्टराईले राष्ट्रिय स्वार्थका लागि विश्वसनीय तरिकाले परराष्ट्र नीति अबलम्वन गर्नुपर्ने बताउनुभयो । उहाँले सत्तामा हुँदा एउटा र बाहिर हुँदा अर्को नीति अवलम्वन गर्न नहुने बताउनुभयो । बैठकमा उहाँले प्रधानमन्त्रीको सन्देशसमेत पढेर सुनाउनुभएको थियो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको परराष्ट्र नीति राष्ट्रिय स्वार्थका लागि हुनुपर्छ, दलीय स्वार्थका लागि होइन भन्नुभयो । पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापा, डा रामशरण महत, सुजाता कोइराला र महेन्द्रबहादुर पाण्डेले मुलुकको आर्थिक समृद्धि नभएसम्म अन्तर्राष्ट्रिय रुपमा प्रभाव र विश्वास बढाउन नसकिने बताउँदै आर्थिक समृद्धिमा लाग्न आग्रह गर्नुभयो । उहाँहरूले दुवै छिमेकीलाई उत्तिकै महत्व दिएर राष्ट्रिय स्वार्थका साथ परराष्ट्र नीति अबलम्वन गर्नुपर्ने बताउनुभयो ।

भारतका लागि नेपाली राजदूत उपाध्यायले विभिन्न विषयमा नकारात्मक टिप्पणी गर्नुभन्दा पनि यथार्थ, वस्तुपरक र आपसी हितका विषयलाई प्राथमिकता दिएर दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन जरुरी रहेको बताउँदै परराष्ट्र मामिलामा सबै राजनीतिक दल एकमत हुनुपर्ने बताउनुभयो ।

चीनका लागि नेपाली राजदूत पौड्यालले नेपालले चीनको प्रगतिबाट पाठ सिकेर आर्थिक समृद्धिमा लाग्नुपर्ने बताउँदै आन्तरिक विषयलाई समाधान गर्दै चीनलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अमेरिकाका लागि नेपाली राजदूत डा कार्कीले अमेरिका नेपालको प्रजातन्त्र र समृद्धिका पक्षमा निरन्तर सहयोग गर्न तयार रहेको आफूले पाएको बताउनुभयो । समितिका सभापति जुठबहादुर खड्गीले चरणबद्ध छलफलपछि आएको निष्कर्षलाई सरकारसमक्ष पेश गरिने जानकारी दिनुभयो । छलफलमा समितिका सदस्य, परराष्ट्र विज्ञलगायतको सहभागिता रहेको परराष्ट्रमन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक हरि लामिछानेले बताउनुभयो । एभरेष्ट दैनिकबाट