तुलसीपुर १७ असोज  । तुलसीपुर आगमनको द्वारका रुपमा रहेको हात्तिखवा तुलसीपुर फोरलेन सडकको निर्माण कार्य दुइदिन भित्र सुरु हुने भएको छ । सुरुवात गरेको लामो समयसम्म पनि निर्माण पुरा हुन नसकेको सडक निर्माण कार्य तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको सक्रियतामा तत्काल सुचारु हुने भएको हो ।

surkhet-sadakगौरी पार्वती निर्माण सेवा काठमाडौका रामकुमार थापाले ठेक्का लिएता पनि उनले स्थानीय ठेकेदार पदम शर्माले जिम्मेवारी दिएर काममा लगाएका थिए । स्थानीय ठेकेदार शर्माले काम गर्न नसकेपछि निर्माण कार्य अवरुद्ध भएको थियो ।

सडक निर्माणमा भएको ढिलासुस्तीले व्यापक जनगुनासो आएपछि मेयर पाण्डेले त्यसमा चासो दिएर निर्माण कम्पनीलाई वोलाउनु भएको थियो । निर्माण कम्पनीले स्थानिय ठेकेदार पदम शर्मासँगको सम्झौता तोडेर आफै काम गर्ने भएको हो ।

सडक निर्माणका लागि आवश्यक पर्ने वालुवा र गिट्टी गुहारखोलाबाट अनुमति प्राप्त गाडिले ल्याउनका लागि अनुमति पनि मेयर पाण्डेले निर्माण कम्पनीलाई दिनुभएको छ । सडकमा राख्नका लागि आवश्यक पर्ने करिव ५ सय ट्रिप र कालोपत्रेका लागि चाहिने वेस गिट्टी निर्माणका लागि क्रसर उद्योगमा करिव ७ सय ट्रिप गिट्टीका लागि सहमति प्रदान गरिएको मेयर पाण्डेले वताउनु भएको छ ।

वाटो निर्माणका क्रममा खानेपानीका पाइप, विद्युत र टेलिफोनको पोल व्यवस्थापनका लागि सम्वन्धित कार्यालयका प्रमुख सँग छलफल गरिएको पनि मेयर पाण्डेले वताउनु भयो ।