नवीन लोचन मगर

रोल्पा, ३ असोज । ललित साहित्य परिषद्, रोल्पाले साहित्यकार नवीन विभास, दिल महरा र लालसिंह भावुक मगरलाई तीन वटा छुट्टाछुट्टै पुरस्कार प्रदान गर्न लागेको छ ।

nabin-dil

परिषद्को आइतबार लिबाङमा बसेको बैठकले ‘सीमावारि सीमापारि पुरस्कार नवीन विभासलाई, दलसुर स्मृति कथा पुरस्कार कथाकार दिल महरालाई र दीयो नवप्रतिभा पुरस्कार लालसिंह भावुक मगरलाई दिन लागेको हो ।

सीमावारि सीमापारि पुरस्कार यस वर्ष ‘रोल्पा सुइना’ कथा कृतिका लागि नवीन विभासलाई दिइएको हो । परिषद्का अनुसार हरेक वर्ष जिल्लाभित्रका स्रष्टाहरुले प्रकाशन गरेका कृतिहरुमध्ये उत्कृष्ट कृतिलाई यो पुस्कार प्रदान गरिन्छ ।

डी.बी. टुहुरोको संयोजकत्वमा गठित छनौट समितिले गरेको सिफारिसका आधारमा पुरस्कार दिने निर्णय गरिएको परिषद्का अध्यक्ष लोक आलोकले जनकारी दिनुभयो ।

त्यस्तै ‘दलसुर स्मृति कथा पुरस्कार’ यस वर्ष कथाकार दिल महरालाई प्रदान गरिने भएको छ । स्रष्टा क्षितिज मगरले आफ्नो बुवाको सम्झनामा स्थापना गर्नुभएको उक्त पुरस्कार हरेक वर्ष रोल्पा जिल्लामा रहेर कथामा कलम चलाउने एक जना स्रष्टालाई प्रदान गरिन्छ ।

लोक आलोकको संयोजकत्वमा गठित छनौट समितिले सिफारिस गरेको आधारमा यसपटक महरालाई प्रदान गर्ने निर्णय भएको परिषद्ले जनाएको छ ।

यस्तै यस वर्षको ‘दीयो नवप्रतिभा पुरस्कार’ भने गजलकार लालसिङ भावुक मगरलाई प्रदान गरिने भएको छ । भावुकलाई ‘मनको तरङ्ग’ गजल सङ्ग्रहका लागि उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

रोल्पा जिल्लाका स्रष्टाहरुले वर्षभरिमा प्रकाशन गरेकोमध्ये कान्छो कृतिकारलाई उक्त पुरस्कार प्रदान गरिन्छ । नवीन लोचन मगरको संयोजकत्वमा गठित छनौट समितिले छनौट गरेको थियो ।

‘दलसुर स्मृति कथा पुरस्कार’ र ‘दीयो नवप्रतिभा पुरस्कार’को परिषद्को ३ गते हुने १७ औं साधारणसभाको अवसरमा प्रदान गरिने निर्णय गरेको छ भने ‘सीमावारि सीमापारि पुरस्कार’ अनुकुल समय पारेर छिटै प्रदान परिषद्ले जनाएको छ ।