इन्द्रेणी संवाददाता
जेठ ३१ घोराही । जिल्ला पशु सेवा कार्यालय दाङले बाख्राहरुमा पिपिआर रोग फैलिएको क्षेत्र काभ्रे र लोहारपानी गाबिसमा पशु चिकित्सक सहितको टोली पठाएको छ ।
। सोमबार काभ्रे र लोहारपानीका दुई गाबिसमा पशु चिकित्सक डा. रमेशप्रसाद नेपालीको नेतृत्वमा दुई ओटा टोली पठाएको हो । एक महिना देखी फैलिएको पिपिआर रोग त्यस क्षेत्रका एक दर्जन बढी गाउँका बाख्रामा फैलिएको र अहिले सम्म करिब ५ सय बढी बाख्राहरु मरि सकेका छन् ।
प्रकोपका बारेमा पटक पटक किसानहरुले कार्यालयमा जानकारी गराउदा समेत सुनुवाई नभएको भन्दै आईतबार मात्रै कार्यालय प्रमुखलाई कार्वाहीको माग गर्दै पिडित किसानहरुले जिल्ला प्रशासन कार्यालयमा निबेदन दिएका थिए ।
हाल सम्म पशु प्राबिधिकहरुले उपचार गर्दै आए पनि प्रकोप नियन्त्रणमा आउन नसके पछि आज पशुचिकित्सकलाई नै प्रभावित क्षेत्रमा उपचारका लागि पठाइएको कार्यालयका प्रमुख डा. जगतबहादुर सिंखडाले जानकारी दिए ।
कार्यालयले बाख्राहरुमा देखिएको उक्त रोग पिपिआर भएकाले सबै पशुहरुमा खोप लगाउनु पर्ने, रोगी र निरोगीलाई एउटै चरण नगराउन किसानहरुलाई आग्रह गरेको छ । प्रभाबित गाउँका लागि रामपुर र नारायणपुर सेवा केन्द्रका कर्मचारी र सात हजार डोज खोप तयारी अबस्थामा राखिएको कार्यालयले जनाएको छ ।