इन्द्रेणी संवाददाता
जेष्ठ ३१ तुलसीपुर। दाङ जिल्ला अन्तरविद्यालयस्तरीय कोकाकोला कप छनोट फूटबल प्रतियोगिता–२०७३ आज देखी तुलसीपुरमा सुरु भएको छ ।cocacola-cup दाङ जिल्ला फूटबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताको आइतबार भएको उद्घाटन खेलमा सक्सेस एकाडेमी बेलुवालाई १ का विरुद्ध २ गोल अन्तरले पराजीत गर्दै गोरखा उमाबी तुलसीपुरले विजयी सुरुवात गरेको छ ।
खेलको पहिलो हाफ्मा दुबै तर्फबाट कुनै गोल हुन नभए पनि दोस्रो हाफ्मा गोरखाका अर्जुन विष्ठले पहिलो गोल गरे भने लेखनाथ महराले दोस्रो गोल गर्न सफल भए । दोस्रो हाफ् चलिरहदा २–० गोल अन्तरले पछाडि परेको सक्सेस एकाडेमीका तर्फबाट राजकुमार घर्तीले जवाफी १ गोल गरे पनि जितका लागि प्रयाप्त हुन सकेन । उद्घाटनको पहिलो खेल हेर्न आएका उल्लेख्य दर्शकका बीचमा भएको उक्त खेल रोमाञ्चक अनि कडा प्रतिस्पर्धात्मक  रहेको थियो ।
संघका अध्यक्ष भुपेन्द्र विक्रम थापाको अध्यक्षता तथा निमित्त जिल्ला शिक्षा अधिकारी दण्डपानी घिमिरेको प्रमुख आतिथ्य एवं नं. १९ वाहिनी अड्डाका क्याप्टेन नारायणबहादुर विष्ठको विशिष्ठ आतिथ्यमा प्रतियागिताको औपचारिक उद्घाटन गरिएको हो । प्रतियोगिता उद्घाटन पूर्व प्रमुख अतिथि घिमिरेको सलामीमा सहभागी विद्यालयले मार्चपास गरेका थिए । मार्चपासमा उत्कृष्ट हुने विद्यालयलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ ।
संघका महा–सचिव सुशील श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको समारोहमा प्रमुख अतिथि घिमिरे, सिसा नेपालकी केन्द्रिय अध्यक्ष साजिदा सिद्धिकीलगायतकाले शुमकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण संघका महा–सचिव प्रेमप्रकाश मल्लले गरेका थिए । असार ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दाङ जिल्लामा स्थापित निजी तथा सामुदायिक गरी २६ विद्यालयको सहभागिता रहेको छ ।