जाजरकोट, १५ भदौ । यहाँका अधिकांश ग्रामीण क्षेत्रमा भाइरल फ्लूले वस्तीहरु थला पारेको छ। रोगका कारण सयौँ बिरामी परेका छन्। बिरामीलाई पानी दिनेसम्म स्थानीय नभएको सम्बन्धित नगरपालिका र गाउँपालिकाका अध्यक्षले बताएका छन्।
तत्काल स्वास्थ्य शिविर नचलाएमा महामारीको रुपमा रहेको भाइरलले स्थानीयको मृत्यु हुनसक्ने त्रिवेणी नलगाड नपा वडा–५ का वडा अध्यक्ष सुदीप शर्माले बताए। ‘गाउँमा एकै घरमा चारभन्दा बढी बिरामी छन् पानी दिनेसम्म मानिस छैन’ उनले भने ‘स्वास्थ्य कार्यालयमा छिटो बिरामीको उपचार गर्न स्वास्थ्यकर्मी परिचालन हुन आग्रह गरिएको र जिल्लामा प्रहरीमार्फत खबर गरिएको छ।’
यता यहाँका सबै स्वास्थ्य संस्थामा दैनिक ६० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। बिरामीको संख्या बढेपछि स्वास्थ्य संस्थामा उपचार गर्न नै मुस्किल भएको इलाका स्वास्थ्य चौकी, दल्लीले बताएको छ।
हेमन्त केसी नेपाल खबरमा लेख्छन्- जिल्लाका दूरदराजमा रहेर जनताको पहँुचमा स्वास्थ्य संस्था नहुँदा सर्वसाधारण मेडिकलमा हजाराँै रकम खर्चेर अन्धाधुन्ध उपचार गर्न बाध्य भएको त्रिवेणी नलगाड नवा–५ का कर्णबहादुर खत्रीले बताए। भने, ‘गरीबहरु झन् मारमा परेका छन्।’
वर्षायाममा जथाभावी फुटेका मूलबाट ल्याइएको पानी पिउँदा र खाना राम्रोसँग पकाएर नखाँदा समस्या आएको डाक्टरले बताएका छन्। बिरामीको भीड बढेपछि डाडागाउँको स्वास्थ्य संस्थामा औषधि नै सकिएको छ। चार दिनदेखि स्लाइन पानी सकिएको भएपनि जिल्ला जाने मानिस नहुँदा मागको पूर्ति हुन सकेको छैन।
बारेकोट गाउँपालिकाका सबै वडाका प्रत्येक घरमा भाइरलका बिरामी रहेको स्थानीय शिक्षक कालीप्रसाद थापाले जानकारी दिए। यही ठाउँमा छ दिनअघि दुई नाबालकको मृत्यु भएको थियो। स्वास्थ्य संस्था टाढा हुँदा उपचारका लागि बिरामी ल्याउन नसक्दा समस्या थपिएको जिरीका प्रेम सिंहले बताए। उनको भनाइ थियो, ‘विकट ठाउँहरुबाट विरामीहरु सुगम स्थानमा आउन सकेका छैनन्। स्वास्थ्य शिविरहरु त्यहाँ पुग्न सकेमा राहत हुने थियो।’
त्यस्तै, यता पूर्वको रग्दा र भगवतीका दुर्गम गाउँमा भाइरलकै प्रकोपले सयौँ गाउँले घरमै थला परेको स्थानीय तेजबहादुर विकले बताए। कुनै घर पनि बिरामी नभएको छैन, कसलाई उपचार गर्नु, काल आए मरिन्छ, उनले भने। ‘स्वास्थ्य संस्था टाढा छ, स्थानीय मेडिकलमा औषधि महँगोमा बिक्री हुने गर्छ’ उनले थपे। फ्लूका कारण बालबालिका र वृद्ध बढी बिरामी भएको स्थानीयको भनाइ छ।
गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्न स्थानीयले माग गरे पनि जिल्ला स्वास्थ्य कार्यालयले कुनै पहल नगरेको स्थानीयको आरोप छ। पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा सही समयमा बिरामीले उपचार नपाएको स्थानीयको आरोप छ।
‘वर्षायाममा खोला बढेका र बाटाहरु भत्किएका कारण भनेको समयमा एक्लै जान सकिँदैन’ अर्को गाउँ दहका काशी पुनले भने। फोनसेवासमेत अवरुद्ध भएका कारण गाउँमा के भएको छ भन्नेसम्म जानकारी आउन नसकेको बारेकोटका नरबहादुर गिरीले बताए।
स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा उपचारमा थप समस्या आएको छ। भगवती स्वास्थ्य चौकीमा छ महिनादेखि तीनवटा दरबन्दी खाली छ। त्यस्तै, नायकवाडा स्वास्थ्य चौकीमा दरबन्दीअनुसारको स्वास्थ्यकर्मी नभएको पाइएको छ। बिरामी भएको गाउँमा औषधि लिएर स्वास्थ्यकर्मी जाँदा स्वास्थ्य संस्था खाली हुने भएकाले गाउँमा जान नसकेको इलाका स्वास्थ्य कार्यालय, दल्लीले बताएको छ। विद्यालयमा आएका विद्यार्थीसमेत बिरामी हुँदै विद्यालयबाटै बोकेर अस्पताल लानुपर्ने बाध्यता आएको शिक्षक बताउँछन्।