इन्द्रेणी संवाददाता
दाङ, १४ भदौ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) ५ नं. प्रदेशको प्रथम प्रदेश सम्मेलन यही भाद्र २१ र २२ गते बुटवलमा हुने भएको छ । सोमबार घोराहीमा सम्पन्न वाइसिएल ५ नं. प्रदेशको दोस्रो पूर्ण बैठकले प्रदेश सम्मेलन बुटवलमा गर्ने निर्णय गरेको हो ।
गणतन्त्र, संघीयतालाई सुदृढ गर्दै समृद्धिको बाटोमा हाम्रो अभियान, संगठन सुदृढीकरढा, युवा जागरण र परिचालनका लागि एकताको प्रथम प्रदेश सम्मेलन’ भन्ने मूल नाराका साथ भाद्र २१ र २२ गते बुटवलमा सम्मेलन गर्न लागिएको वाइसिएल नेपालका केन्द्रीय सचिव गणेश शाहीले बताए ।
सम्मेलनका लागि गणेश शाहीको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन गरिएको छ भने तयारीका लागि विभिन्न समितिहरु गठन गरिएको शाहीले बताए । जसअनुसार राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति संयोजक गणेश शाही, सम्मेलन व्यवस्थापन समिति संयोजक ठाकुर सौराग, आर्थिक व्यवस्थापन समिति संयोजक रितमान पुन रहेका छन् । त्यसैगरी प्रतिनिधि व्यवस्थापन समिति संयोजक रतन शाही, स्वयंसेवक एवं अतिथि सत्कार समिति संयोजक जितेन्द्र पुन, साँस्कृतिक समिति संयोजक मनिषा चदारा र प्रचार प्रसारको जिम्मा कार्यालयलाई दिइएको संयोजक शाहीले जानकारी दिए ।
बैठकमा वाइसिएल केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले उत्पादन र निर्माण वाइसिएलको अभियानलाई मूल नाराका रुपमा आत्मसाथ गर्दै संगठन सुदृढीकरणमा लागि निर्देशन दिएका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा ५ नं. प्रदेश संयोजक पूर्ण घर्तीले क्रान्तिकारी युवाहरुको तागतले मात्रै अबको परिवर्तन सम्भव भएको भन्दै वाइसिएलको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको बताए ।










