काभ्रे १४ भाद्र । काभ्रेको बनेपा नगरपालिका ८ पुण्यवती खोला नजिकैको मकैबारीमा एक महिला मृत फेला परेकी छिन् । सर्वाङ्ग नाङ्गो अवस्थामा महिला मृत फेला परेकी हुन् ।

स्थानीयहरुले महिलाको बलात्कार पछि हत्या भएको हुने आशंका गरेका छन् । मंगलबार दिउँसो प्रहरीले बेवारिसे अवस्थामा मकैबारीमा रहेको शव स्थानीयको सूचनाको आधारमा फेला पारेको हो । पुन्यमाता खोला नजिकैको सुनसान मकैंबारीभित्र महिलाको शव फेला परेको हो । प्रहरीले घटनाको अनुसन्धानको लागि घटना स्थल नजिक डोरी टागेर घेरा हालेको छ ।

घटनास्थलमा भेटिएकी महिलाको अनुहार चिन्न नसकिने अवस्थामा छ । महिलाको अनुहारमा झिंगा भन्किएको र दुर्गन्धसमेत आएकोले घटना केही दिन अघि नै भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

अन्दाजी ४० बर्षकी उक्त महिलाको परिचय र ठेगाना खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक भक्त श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार प्रारम्भिक अनुसन्धानका आधारमा महिलाको हत्या भएको हुनसक्ने बताए । ‘हत्या वा आत्महत्या पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र थाहा हुन्छ ।’ रातोपाटीमा खबर छ ।

मंगलबार बिहान स्थानीयले मकैबारीमा शब देखेपछि प्रहरीलाई खवर गरेका थिए । मृतक महिलाको शव नजिकै फुटेका चुरा, गम्छा, पटुका फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।