घोराही १० भाद्र । चर्चित उपन्यास पल्लवीको कथा बस्तुमा आधारित रहेर चलचित्र पल्लवी बन्ने भएको छ । खुशी फिलिम्स प्रोडक्सन नेपालको व्यानरमा निर्माण गर्न लागिएको पल्लवी चलचित्रको छिटै नै सुटिङ सुरु हुने निर्देशक एनआर घिमिरेले जानकारी दिनुभयो । युवा पत्रकार एवं साहित्यकार सविन प्रियासनले लेख्नु भएको पल्लवी उपन्यास पछिल्लो समयमा सबै भन्दा बढि रुचाईएको उपन्यासमा पर्दछ ।
चलत्रित्र निर्माणका लागि उपन्यासकार प्रियासनले खुशी फिलिम्सलाई सबै खाले अधिकार दिनु भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्य समेत रहनु भएका प्रियासनले प्रकाशित गरेको पल्लवी उपन्यासको कथा बस्तुले मन छोएका कारण आफूले चलचित्र निर्माण गर्न लागि रहेको निर्देशक एन आर घिमिरेको भनाई छ ।

चलचित्र सुटिङका लागि लोकेशन हेर्ने काम भइरहेको र यसको सुटिङ दाङ, नाम्चेबजार, मनाङ, घलेगाउँ, तिलिचोताल, काडमाडौलगायतका स्थानमा हुने निर्देशक घिमिरेले जानकारी दिनुभयो । पल्लवीमा मुख्य भूमिका मनिषा पाण्डेय, दिपेश कार्की, विशाल सेर्पा, भुमिका केसीलगायतका नयाँ र पुराना कलाकारहरुले अभिनय गर्ने बताइएको छ ।










