दाङ, ३० साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त व्यावसायिक प्यानलको जीत सुनिश्चित भइसकेको संयुक्त प्यानलमा आबद्ध व्यावसायिक संगठनहरुले दावी गरेका छन् । आज सोमबार घोराहीमा बसेको संयुक्त व्यावसायिक प्यानलका उम्मेदवार तथा सम्बद्ध व्यावसायिक संगठनहरुले समीक्षात्मक बैठकमा यस्तो निष्कर्ष निकालेका हुन् ।
बैठकका संयुक्त प्यानलका अध्यक्षका उम्मेदवार नारायण भुसालले व्यावसायिक प्यानलका सबै उम्मेदवारहरु एकसेएक क्षमतावान्, दक्ष र इमान्दार रहेको बताए । फेन्सी, किराना, गल्ला, सप्लायर्स तथा उद्योगहरु सबै क्षेत्रका व्यवसायीहरुको प्रतिनिधित्वसहित संयुक्त व्यावसायिक प्यानल बनाइएको भन्दै भुसालले मतदाताहरुले भोटमार्फत् आफ्नो प्यानललाई अनुमोदन गर्न मात्रै बाँकी रहेको बताए ।
समीक्षात्मक बैठकमा बोल्ने सहभागीहरुले व्यावसायिक हक हित र अधिकारका लागि लड्न सक्ने सक्षम नेतृत्व संयुक्त व्यावसायिक प्यानलमै भएकाले सबैको आशा व्यावसायिक प्यानलमै रहेको बताएका थिए । बैठकमा उम्मेदवारहरुले चुनाव प्रचारका क्रममा भएगरेका अनुभूतिहरु सुनाएका थिए भने संयुक्त व्यावसायिक प्यानल निर्वाचन मूलसमितिका पदाधिकारीहरु नरबहादुर अधिकारी, जीतबहादुर केसी, रामप्रसाद पोख्रेललगायतले आवश्यक कामको बाँडफाँड तथा निर्देशन दिएका थिए । बैठकमा निर्वाचनको दिन गर्नुपर्ने विभिन्न काम र जिम्मेवारी बाँडफाँड पनि गरिएको थियो ।