इन्द्रेणी संवाददाता 
माओवादी केन्द्र दाङ ले बाढीको बिताण्डा बाट पीडित जनताको उद्धार कार्यमा तत्काल सबै आ आफ्नो स्थानबाट लाग्न अनुरोध गरेको छ । माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले बिज्ञप्ती मार्फत भनेका छन् – ‘ शुक्रबार साँझदेखि आएको अविरल बर्षाले देशका विभिन्न भागसँगै हाम्रो दाङ जिल्लाका विभिन्न ठाउँहरुमा बाढीपहिरोबाट प्रभावित हुन पुगेका छन् । अहिलेसम्मको जानकारीअनुसार लगातारको वर्षासँगै आएको बाढी र डुबानका कारण जिल्लामा दुई जनाको ज्यान जानुका साथै घरगोठहरु डुबानमा परी थुप्रै नागरिक विस्थापित भएको र बाढी पहिरो र रुखहरु ढलेर सडक अवरुद्ध भएको स्थिति छ । थुप्रै गाउँहरु जलमग्न भएका छन् । सयौं घर परिवार विस्थापित हुनुपरेको छ ।’

‘प्राकृतिक प्रकोपबाट पर्न गएको यो बज्रपातलाई कम गर्न तत्काल प्राकृतिक प्रकोपबाट पीडित स्थानहरुमा उद्धार र राहतको कार्य अघि बढाउन नेकपा माओवादी केन्द्र दाङ केन्द्र सरकार, स्थानीय सरकार र प्रशासनसँग जोडदार माग गर्दछ । साथै जिल्लाका सम्पूर्ण पार्टी कार्यकर्ता, वाइसिएलका कमरेडहरु सबैलाई उद्धार र राहतका लागि आ–आफ्नो ठाउँमा खट्न पनि आग्रह गर्दछु ।

प्राकृतिक प्रकोपको मारमा परी जीवन गुमाउनुहुने तुलसीपुर उपमहानगरपालिकाका भगवती सुनार र नरबहादुर रावतप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । विभिन्न स्थानमा भएका घटनामा घाइते हुनुभएका सबैलाई शीघ्र उपचारका लागि पहल गर्न र उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । राज्यका तर्फबाट गरिनुपर्ने कुनै पनि उद्धार, राहत र पुनस्र्थापनाका काममा कन्जुस्याई र ढिलाइ नगरि तदारुकताका साथ पहलकदमी लिनमा सम्बन्धित तहलाई विशेष अनुरोध गर्दछु ।’