दाङ, २८  साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त व्यावसायिक प्यानलको तर्फबाट १३ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ । संघको यही साउन ३१ गते हुने १३ औं अधिवेशनका लागि १३ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको हो ।

DDC dang

प्रतिबद्धता पत्रमा घोराहीलाई जिल्लाकै आर्थिक केन्द्रको रुपमा विकास गर्ने, व्यवसायीले भोग्दै आएको मिसम्याच र अन्डरबिलिङलगायतका समस्या समाधानका लागि ठोस पहल गर्ने, संघले निर्माण थालेको बहुउद्देश्यीय सभागृह निर्माण समयमै सम्पन्न गर्ने, सफा, सुन्दर र हरित जिल्ला अभियानलाई सार्थक बनाउने, व्यवसायीको हक, हितको पक्षमा आवाज उठाउने बुँदाहरु समेटिएको छ ।

त्यस्तै, औद्योगिक क्षेत्र स्थापनाको पहल टुङ्गोमा पु¥याउने, अनाधिकृत रुपमा बिना दर्ता व्यवसाय गर्नेहरुलाई निरुत्साहित गर्ने, स्थानीय सरकार र सरकारी निकायसँग समन्वय गरी व्यावसायिक विकासका लागि काम गर्ने, व्यावसायिक सीप र सचेतना तालिम गर्ने, सरकारी निकायमा व्यवसायीले भोग्दै आएका झन्झट र असुविधा अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै, संयुक्त व्यावसायिक प्यानलले जिल्लाक केही महत्वाकांक्षी योजनाहरुलाई अघि बढाउन सम्बन्धित निकायमा दबाबका लागि पहल गर्ने पनि प्रतिबद्धतामा उल्लेख गरेको छ ।

जसमा राप्ती उपक्षत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अघि बढाउने अभियानलाई ठोस निष्कर्षमा पु¥याउन दबाब अभियान सञ्चालन गर्ने, दाङ जिल्लालाई प्रादेशिक राजधानी बनाउने अभियानलाई सार्थक बनाउने, ‘हाम्रो दाङ, राम्रो दाङ’ अर्थात् एसियाकै ठूलो उपत्यकाको रुपमा रहेको दाङलाई आर्थिक, साँस्कृतिक र पर्यटकीय सम्भावनालाई अघि बढाउँदै दाङमा रहेका पर्यकटीय स्थलको पहिचान, संरक्षण र प्रचार–प्रसार गर्दै दाङलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पहल गर्ने, कोइलाबास नाकालाई सञ्चालनका लागि केन्द्रस्तरमा पहल गर्ने, मध्यपहाडी लोकमार्ग जोड्ने सहिद मार्ग, घोराही–मुर्कुटी–प्यूठान हुँदै प्रदेश नं. ४ जोड्ने सडक, तुलसीपुर–पुरन्धारा हुँदै सुर्खेत जोड्ने सडक र लमही–कोइलावास सडकलगायत दाङलाई बाहिरी जिल्लासँग जोड्ने सडकको स्तरवृद्धि र सञ्चालनका लागि पहल गर्ने, अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययनको लागि काम अघि बढाउन दबाब दिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

संयुक्त व्यावसायिक प्यानलको तर्फबाट व्यक्त गरिएका १३ बुँदे प्रतिबद्धताहरु आफूहरुले जुनसुकै हालतमा पूरा गर्ने अध्यक्षका उम्मेदवार नारायण भुसालले बताए ।