राजनीतिकरुपमा मलाई परास्त गर्न नसकेपछि उनीहरुले मेरो व्यक्तिगत चरित्र हत्या गर्नतर्फ उद्दृत भएका हुन 

 

Bina-magar-cover

चितवन महानगरपालिकामा माओवादीका तर्फबाट विजयी बनिन् रेणु दाहाल । अखिल नेपाल महिला संघको महासचिव समेत रहेकी रेणु दाहाललाई ‘प्रचण्डपुत्री’ का रुपमा सामाजिक सञ्जालमा निकै आलोचना र केहीले त गालीगलौज समेत गरे । अहिले भने भ्रम र झूठको शिकार बनेकी छिन् बीना मगर । नाताले उनी माओवादी अध्यक्ष प्रचण्डकी बुहारी हुन । पछिल्ला केही दिनमा बीना मगरका बारेमा सामाजिक सञ्जाल र एमाले निकट एक अनलाईनले समाचार प्रकाशित गर्यो । समाचारहरु सार्वजनिक भएपछि एभरेष्टदैनिकडटकमसँग कुरा गर्दै नेतृ बीना मगरले प्रचण्डको बिरोध गर्ने मनशायले आफूविरुद्ध चरित्रहत्याको कायरतापूर्ण षडयन्त्र भइरहेको टिप्पणी गरिन् । पढ्नुस उनीसँग गरिएको कुराकानी : 

मिडियामा निकै चर्चा छ त तपाईको ?

म आफै छक्क पर्छु हाम्रा केही मिडिया देखेर । हामी सानैदेखि राजनीतिक संस्कारमा हुर्कियौं । कसैसँग केही असहमति भए त्यसको राजनीतिक प्रतिवाद र आलोचना गर्नुपर्छ भन्ने मान्यता हामीमा विकास भयो । तर यहाँ भने त्यस्तो छैन । कसैसँग रिस पोख्नु छ भने जे पायो त्यही लेख्ने प्रवृत्ति देखिएको छ । त्यस्तै प्रवृत्ति भएकाहरुले मेरो चरित्रहत्या गर्न खोजेका हुन ।

तपाईलाई नै त्यसरी निशाना बनाउनुपर्ने किन त ?

मविरुद्ध तथानाम, कपोकल्पित र दुर्नियतपूर्ण तरिकाले समाचार र टिप्पणीहरु सार्वजनिक भएको देखे मैंले । यसमा म मात्रै जोडिएकी छैन । माओवादीले शानदाररुपमा भरतपुर महानगरपालिकामा निर्वाचन जिते । रेणु दिदी मेयर बनिन् । यसबाट अत्तालिएका तत्वहरुले मलाई निशाना बनाएका हुन । हिजो रेणु दिदीका बारेमा तथानाम लेखे । मेयरका उम्मेदवारको परिवारका सदस्यहरुले समेत दिदीलाई अत्यन्तै घृणित शब्दमा आलोचना गरे । तर उनीहरुको केही चलेन । अहिले हारबाट छटपटिएपछि उनीहरु मविरुद्ध खनिएका छन् । हुँदै नभएका कुरा कल्पना गरेर लेख्ने षडयन्त्र गरेका छन् ?

प्रकाश दाहाल र तपाईबीचको सम्बन्धमा खटपट आएको कुरा छ नि ?

श्रीमान र श्रीमतीबीचको सम्बन्धबारे श्रीमान र श्रीमतीलाई मात्रै थाहा हुन्छ । राम्रो छ या नराम्रो छ भन्ने कुरा दुबैमध्ये एकले सार्वजनिक नगर्दासम्म अरुलाई कसरी थाहा हुन्छ ? एउटा सीमा हुन्छ नि मिडियाको पनि । पत्रकारको आचारसंहिता हुँदैन । पत्रकारले व्यक्तिगत चरित्रहत्यामा उत्रिन पाउँछ ? समाजको चौथो अंग भनेर दावी गर्ने पत्रकारले के खालको संस्कृतिको विकास गरिरहेको छ ? व्यक्तिलाई त्यसै पीडा दिन मिल्छ ? के उनीहरुले मलाई सोधे ? के उनीहरुले प्रकाशजीलाई सोधे ? अनि जथाभावी लेख्न मिल्छ ? स्थानीय निकायको निर्वाचनमा म जिल्ला थिए तीन महिनादेखि, वहाँ अध्यक्ष कमरेडसँग हुनुहुन्थ्यो । फर्केपछि हामी दुबै अस्तिमात्र पोखरा गयौं, त्यसपछि हिजो फर्किएको । समाचारमा भनिएको कुरामा केही त सत्यता हुनुपर्छ । यी सबै वाहियात कोरा कल्पना र पार्टीलाई बदनाम गर्ने, मलाई बदनाम गर्ने, अध्यक्ष कमरेड, प्रकाशजी, रेणुजीलगायतका विरुद्धको कुत्सित मानसिकताले लेखिएका शब्द मात्रै हुन ।

फेसबुकमा समेत तपाईका बारेमा टिप्प्णीहरु देखियो त ?

मैले माथि नै भने नि, म जनताको बीचबाट लामो संघर्ष गरेर हुर्किएको व्यक्ति हुँ । हाइस्कूल पास नगर्दै राजनीतिमा होमिए । सशस्त्र संघर्षदेखि शान्ति प्रक्रियामा सक्रियरुपमा पार्टीका हरेक जिम्मेवारी पुरा गरे । पछिल्लो समयमा जिल्लामा केन्द्रीत छु । जनताका ससाना कामहरुदेखि विकास निर्माणलगायतका कामहरुमा सक्रिय छु । त्यो कुराबाट एउटा तप्का आत्तिएको छ । बीना मगरले जित्ने भइ भन्ने त्रास छ उनीहरुमा । अहिले स्थानीय तहको निर्वाचनमा समेत हाम्रो क्षेत्रमा उनीहरुको नराम्रो हार भयो । यो सबै कुरा हुँदा राजनीतिकरुपमा मलाई परास्त गर्न नसकेपछि उनीहरुले मेरो व्यक्तिगत चरित्र हत्या गर्नतर्फ उद्दृत भएका हुन । मैले चिन्दै नचिनेका मान्छे, मैले भेट्दै नभेटेका मान्छेले समेत मेरा विरुद्ध तथानाम लेखिरहेका छन् ।

तपाईका विरुद्ध गलत नै लेखिएको भए कानुनी उपचार किन खोज्नुहुन्न त ?

राजनीतिमा आलोचना हुन्छ, त्यो राजनीतिक हुँदासम्म राजनीतिकरुपमा नै प्रतिवाद गर्नुपर्छ । तर जब त्यो अराजनीतिक, व्यक्तिगत र चरित्रहत्याको स्तरमा पुग्छ, त्यो अपराध हुन्छ । त्यसको कानुनी उपचार खोज्नुपर्छ । त्यसैले फेसबुकमा मविरुद्ध गालीगलौज गर्ने, मानमर्दन र चरित्रहत्या गर्नेविरुद्ध कारवाहीका लागि म अघि बढिसकेको अवस्था हो । पत्रपत्रिकाहरुमा आएका गलत र चरित्रहत्या गर्ने मनशायका समाचारका विरुद्ध समेत मैले सम्बन्धित निकायमा गुनासो राखिसकेको छु ।

अब के गर्नुहुन्छ ?

राजनीति, मेरो जीवन नै राजनीति हो । हिजो पार्टीको जिम्मेवारी अनुरुप कञ्चनपुरको क्षेत्र नं. १ मा स्थानीय निकायको निर्वाचनको प्रचारका लागि खटिए । अब प्रदेश र केन्द्रको निर्वाचन छ । पार्टी र संगठन निर्माणको अभियान छ । म पार्टीले दिएको जिम्मेवारी अनुसार अघि बढिरहेको छु । जिल्लाकेन्द्रीत भएर अघि बढ्दैछु ।

एभरेष्ट दैनिकबाट साभार